चलचित्र विकास बोर्डले 'स्टोरी बैङ्क' स्थापना गरेको छ । मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले  बोर्डका सदस्य सचिव महेन्द्रबहादुर साँखीको संयोजकत्वमा गठन भएको मस्यौदा समितिले बैङ्क स्थापना गरेको हो । सरकारले यस वर्षको बजेटमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने घोषणा गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्न बोर्डले 'स्टोरी बैङ्क' स्थापना गरेको हो । ११ सदस्य रहेको मस्यौदा समितिले ‘स्टोरी बैङ्क कार्यविधि २०७७’ पनि तयार पारेको छ । समितिको सह–संयोजकमा नवल खड्का र सदस्यहरूमा विकासराज आचार्य, रविन्द्र रञ्जन झा, फुलमान वल, दीपेन्द्र के खनाल, छिरिङ रितार शेर्पा, मीनबहादुर भाम, केकी अधिकारी, ताराकुमार श्रेष्ठ र गिरीश शर्मा छन् ।

बैङ्क स्थापना भएपछि सरकारले मौलिक चलचित्र निर्माणमा सहयोग गर्ने विश्वास चलचित्रकर्मीले लिएका छन् । 'स्टोरी बैङ्क' का लागि प्राप्त भएका कथामध्येबाट छानिएका पाँच मौलिक कथामा चलचित्र बनाउनका लागि राज्यले विभिन्न सुविधा दिनेछ । मौलिक छनौटमा नपरेका कथामा कसैले लगानी गर्न चाहेमा राज्यले केही सुविधा उपलब्ध गराउने जानकारी दिइएको छ ।