धुर्मुस सुन्तली फाउन्डेसनले अगुवाइमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम यति बेला निरन्तर भइरहेको छ । जनस्तरबाट निर्माण भइरहेको चितवनको भरतपुरमा निर्माणाधीन यस रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले मङ्गलवार ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरपालिकाकी प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सो चेक हस्तान्तरण गरेका हुन् । महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित ४ करोड रुपैयाँमध्ये पहिलो चरणमा ५० लाख रुपैयाँ प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिएका छन् । यस बारे थप जानकारी दिँदै रङ्गशाला कोरोना कहरका बिचमा पनि तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा विनियोजित मध्येको रकम थप्दै लगिने बताए ।

यसै गरी महानगरपालिका प्रमुख दाहालले फाउन्डेसनले सन्तोषजनक ढङ्गले निर्माणको काम अगाडि बढाइरहेकोमा खुसी व्यक्त गर्दै अन्य रकम पनि आवश्यकता र कार्य प्रगतिका आधारमा निकासा गरिँदै जाने र निर्माण कार्य अगाडि बढाउन आग्रह गर्दै सङ्घ, प्रदेश र अन्य निकायले गर्ने आर्थिक सहयोगका लागि आफूले समन्वय र सहजीकरण गरिरहेको बताइन् ।