चलचित्र विकास बोर्डमा नियुक्ति भएको ६ महिना नबित्दै तत्कालीन चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्माता केशव भट्टराईको निधन भएको थियो । भट्टराईको निधन पछि परिवारमा पर्न गएको पिडा र आर्थीक भार सम्हाल्ने कोही नहुँदा चलचित्र कर्मीले एकजुट भएर सहयोग गरेका छन् । देश तथा विदेशमा रहेर नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्‍याइरहेका चलचित्रकर्मीले सङ्कलन गरेको रकम भट्टराईकी धर्मपत्नी नीता भट्टराईलाई हस्तान्तरण गरिएको छ । भट्टराईको निधन भएपछि उनको परिवारलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ गठन भएको 'स्वर्गीय केशव भट्टराई परिवार सहयोग समितिले' बुधवार एक कार्यक्रम आयोजना गरी परिवारलाई हस्तान्तरण गरेको हो । सहयोगबाट उठेको ३४ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।  नेपालबाट समितिमा रहेका सदस्यहरू स्वयम र अन्य चलचित्रकर्मीहरू राजकुमार राई, छक्का पञ्जा टिम, प्रभु शमशेर जबरा, ओम अग्रवाल, नरेन्द्र महर्जन, छविराज ओझा, निकिता पौडेल, विराटनगरका मेयर, चलचित्र पत्रकार सङ्घ हेटौँडा शाखा, चलचित्र ‘आमा’ टिम, आकाश अधिकारी लगायतले सहयोग गरेका हुन् ।

यसै गरी विदेशमा रहेका चलचित्रकर्मीहरू नारायण पुरी, कृष्ण चापागाईँ, सुमन दाहाल, सुरेश दर्पण पोखरेल, श्याम भट्टराई, गरिमा पन्त, शङ्कर घिमिरे, अरुणिमा लम्साल, रञ्जना शर्मा, युना उप्रेती, गणेश उप्रेती, मुकेश ढकाल, सुमन गैरै, ऋचा घिमिरे, दिलीप रायमाझी, जल शाह, सारङ्गा श्रेष्ठ, राज वल्लभ कोइराला, भानु प्रताप, जीवन लुइँटेल, बाबु बोगटी, गोपाल नेपाल, राजु लामा लगायतका कलाकारहरूले सहयोग पठाएका थिए । छोटो समय बोर्ड अध्यक्षको रूपमा कार्यभार सम्हालेका भट्टराईले चलचित्र क्षेत्रका लागि थुप्रै सकारात्मक काम गरेका छन् भने नेपाली चलचित्र क्षेत्रमा धेरै सफल र उत्कृष्ट चलचित्र पनि दिएका छन् ।