समाजमा व्यथित असमानता र गलत आचरणको विरोध गर्न र यस विषयमा आवाज उठाउन पछि नहट्ने नायिका हुन् ऋचा शर्मा । पछिल्लो समय अन्याय र अत्याचार विरुद्ध आवाज उठाइरहेकी शर्माले देशमा बलात्कारको घटना बढ्दै जाँदा पनि विभिन्न कालखण्डमा गृहमन्त्री भएका नेताहरूले दिएको बयानमा आक्रोश व्यक्त गरेकी छिन् । पछिल्लो समय दिन दिनै बढ्दै गएको बलात्कार र हत्या जस्तो अपराधलाई सरकारले गम्भीर रूपमा नलिइदिँदा सबैतिरबाट आवाज उठ्न थालेको छ । यसै विषयलाई उल्लेख गर्दै कलाकर्मीहरूले पनि आवाज उठाइरहेका छन् भने सरकारको उत्तरदायित्व विहीन व्यवहार र कानुनको फितलो संरचना माथि प्रश्न उठाइरहेका छन् । पूर्व गृहमन्त्री बामदेव गौतमदेखि वर्तमान गृहमन्त्री रामबहादुर थापाले बलात्कारको विषयमा दिएको बयानले तुच्छ भएको र नामहरुको इतिहासमा लेखाजोखा हुने बताएकी हुन् । देशको गरिमामय पदमा बसेका व्यक्तिहरूले बलात्कारको घटना हेर्दा चिन्तित हुनुपर्ने अवस्था नरहेको भन्दै लज्जास्पद अभिव्यक्ति दिइरहँदा आक्रोशित भएर ऋचाले आफ्नो सामाजिक सञ्जालमा आक्रोश पूर्ण स्ट्याटस पोस्ट गरेकी हुन् । बलात्कार र त्यसपछि हत्याका घटना बढिरहँदा गृहमन्त्रीको पदमा आसिन थापाले बुधबार विश्वका सवा २ सय देशको अवस्था हेर्दा बलात्कारको विषयमा नेपालले चिन्ता गर्नुपर्ने ठाउँ नरहेको बताएका थिए ।
उनको यस टिप्पणीको सामाजिक सञ्जाल लगायत सबैतिर विरोध भइरहेको छ । विभिन्न कालखन्डमा विवादास्पद टिप्पणी गर्ने चार गृहमन्त्रीको नाम उल्लेख गर्दै ऋचाले आलोचना गरेकी हुन् । उनी लेख्छिन्,
'१. यस्तो बेला बलात्कार भैरहन्छ - भूकम्प पछि मा. गृहमन्त्री बामदेव गौतम ।
२. बलात्कार पुजिवाद ले गराएको हो - निर्मला हत्याकाण्ड पछि मा. गृहमन्त्री रामबहादुर थापा ।
३. बलात्कार भनिएको केस मा ९०% महिलाले ईन्जोए गर्छन् - मा. रामनारायण बिडारी ।
४. दिन मा ७ जति मात्रै बलात्कार, चिन्ता लिनु पर्ने अवस्था होइन - मा. गृहमन्त्री रामबहादुर थापा । याद राख्नुहोला यी नाम हरू, इतिहासमा लेखाजोखा हुनेछ।'