लामो समय हल बन्द भएपछि र कोरोना कहर अझै कम नहुँदा फिल्म क्षेत्रले भोग्नु परेको क्षति कहिलेसम्म यथावत रहने हो भन्न सकिन्न । लकडाउनको पहिलो संस्करण भएको नै छ महिना बढी भैसकेको छ र फिल्म इन्डस्ट्री लगायत सार्वजनिक जमघट हुने स्थल त्यति नै लामो समय बन्द रहे । यद्यपि केही हप्ता अगाडी देखी सरकारले अन्य सार्वजनिक स्थल र अन्य सेवा प्रदायक क्षेत्र खोल्ने अनुमति दिइसकेको छ । यती भइसक्दा पनि निकै ठुलो घाटा व्यहोरिरहेको फिल्म क्षेत्रलाई अझै अङ्कुश लगाइरहेको छ । जसको कारण अझ कहिले सम्म फिल्म हलहरू बन्द हुने र सम्पूर्ण फिल्म इन्डस्ट्री चलायमान हुने यकिन गर्न गाह्रो छ । यद्यपि फिल्म क्षेत्रलाई राहत पुग्ने गरी केही योजनाहरू अघि सारिएको छ । जसको कार्यान्वयन गर्न चलचित्र विकास बोर्ड लागी परेको छ । चलचित्र क्षेत्र चलायमान बनाउन तथा कोभिडका कारण चलचित्र रिलिज गर्न नपाएर मर्कामा परेका निर्मातालाई चलचित्र विकास बोर्डले सरकारको समन्वय सहयोग गर्ने भएको छ ।

बोर्डका अध्यक्ष दयाराम दाहालले योजना पास गरिसकेको र सरकारले हल खोल्ने अनुमति दिएसँगै यो लागू समेत हुने बताएका छन् । चलचित्र विकास बोर्डले सर्भर इनकोडिङ चार्ज, पोस्टर छपाई, सरकारी तथा विभिन्न निजी टेलिभिजनमा विज्ञापनमा सहयोग गरिने छ । हल खुलेको ६ महिनाभित्र रिलिज हुने चलचित्रका लागि यो सुविधा उपलब्ध गराइनेछ दाहालले जनाएका छन् । उनका अनुसार 'निर्माताले तिनुपर्ने सर्भर चार्ज, पोस्टर फ्लेक्सको खर्च, हलमा चलचित्र रिलिज गर्दा लाग्ने प्रति शोको चार्ज सबै बोर्डले नै तिर्ने र सरकारी मिडियामा विज्ञापनमा छुट दिइने तथा केही निजी टेलिभिजनमा पनि विज्ञापनमा छुट दिने विषयमा कुरा भैसकेको छ ।' बोर्डले यस बाहेक उपत्यकाका महानगर र नगरसँग सहकार्य गरि ६ महिनासम्म नेपाली फिल्मको ब्यानर तथा फ्लेक्सहरु सबै आकाशे पुलमा राख्न पहल गरेको छ । 

लामो समय रिलिजको लागी तयारीमा रहेका चलचित्र होल्डिङमा बस्नुपर्दा र प्रचारप्रसारमा गरेको खर्च अर्थ हिन भएर निर्माता निराश भएको अवस्थामा फिल्म क्षेत्रको अभिभावक विकास बोर्डले यस किसिमको राहत प्याकेज ल्याउँदा पक्कै पनि चलचित्र रिलिज गर्ने वा नगर्ने भन्ने दोधारमा रहेका निर्माताका लागी केही राहत हुने छ ।