रिजन गिरीको म्युजिकल फिल्म 'दशैं' सार्वजनिक भएको छ । यस म्युजिकल फिल्ममा रिजनलाई गङ्गा गिरीले आवाज दिएर साथ दिएकी छिन् । गीतमा शब्द तथा सङ्गीत पनि गायक गिरी कै रहेको छ । सत्य घटनामा आधारित भिडियोले इराकमा १२ जना नेपालीको हत्या भएको घटनालाई स्मरण गराएको छ । दशैंको समयमा विदेशमा रहेका आफन्त घर फर्किन नपाएको पीडासँग १२ नेपालीको हत्याको घटना जोडेर निर्माण गरिएको यस भिडियो निकै मार्मिक र कारुणिक रहेको छ । नेपालीहरूको महान चाड दशैँ नजिकिँदै जाँदा लाखौँ नेपाली दाजु भाइ दिदी बहिनी विदेशी भूमिमा कठोर सङ्घर्षका साथ बाँचिरहेको र आफ्नो घर परिवारको साथमा दशैँ मनाउने चाहाना पुरा नहुँदा हुने पिडालाई निकै यथार्थ परक रूपले गीतमा प्रस्तुत गरिएको छ ।
यस म्युजिकल फिल्म कुनै काल्पनिक चलचित्र जस्तो नलागेर आफ्नै आँखा अगाडी सबै कुरा घटिरहे जस्तो आभास हुन्छ । अनिल न्यौपानेले निर्देशन गरेको म्युजिक भिडियोमा कुशेन्द्र पुरुष ढकाल, लक्ष्मी गिरी, रिजन गिरी, एलिजा न्यौपाने गिरी, दीपिका न्यौपाने लगायतको अभिनय छ। कथा लेखन तथा कन्सेप्टसमेत रिजनको रहेको छ । यस म्युजिकल फिल्म गायक रिजनकै युट्युब च्यानलमा उपलब्ध छ ।