अभिनेता विपिन कार्की अभिनीत चलचित्र 'सेल्फी किङ्ग' युट्युबमा सार्वजनिक गरिएको छ । विशाल सापकोटाले निर्देशन गरेको चलचित्र शुक्रवार युट्युबमा ओएसआर डिजिटलले सार्वजनिक गरेको हो । गत माघ २४ मा प्रदर्शनमा आएको यस चलचित्रलाई दर्शकको औसत साथ मिलेको थियो । भने अभिनेता विपिनको अभिनय निकै रुचाएका थिए । कोरोना महामारीले सम्पूर्ण हलहरू बन्द हुँदा दर्शकले विगत छ महिना यता नयाँ चलचित्र हेर्न पाएका छैनन् । यसै कारण पनि दर्शकले घरमा नै बसेर केही समय पहिले मात्र रिलिज भएको चलचित्र हेर्ने अवसर दिँदै चलचित्र छिट्टै युट्युब मार्फत रिलिज गरिएको हो । 

'सेल्फी किङ्ग'मा विपिनका अलावा लक्ष्मी कार्की, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सबिन बास्तोला, कमल देवकोटा, जीवन भट्टराई लगायतको अभिनय रहेको छ । दिनेश राउत र सुभाष थापाले निर्माण गरेको यस चलचित्रमा निर्देशक सापकोटाकै लेखन रहेको छ । चलचित्रमा सुसन प्रजापतिको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुषालको सङ्गीत रहेको छ । चलचित्रका गीत सङ्गीत लगायत निकै चर्चामा आएका थिए भने दर्शकले चलचित्रका मुख्य अभिनेता कार्की लगायत अन्य कलाकारको काम मन पराएका थिए ।