दशैँ तिहारको पूर्व सन्ध्यामा गीतकार ध्रुव प्रसाद अम्गाईको परदेशीको पीडा समेटिएको 'तिमीलाई सन्देश' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सङ्गीतकार सुनिल मास्केको सङ्गीत, प्रदीप श्रेष्ठको सङ्गीत संयोजन र हेमन्त कान्छा रसाइलीको स्वर रहेको छ । युट्युबमा सार्वजनिक गीतको भिडियो युवराज वाइबाको निर्देशनमा तयार भएको हो । भिडियोमा गीतका गायक समेत रहेका हेमन्त कान्छा र रेनु पुन मगरले अभिनय गरेका छन् । निश्चल पौडेलको सिनेम्याटोग्राफी र विकाश दाहालको सम्पादन रहेको गीतको भिडियोमा भिडियोमा परदेशी युवकले दशै-तिहारमा घर आउन नपाएको तर मन परिवारमै भएको हृदयस्पर्शी सन्देश व्यक्त भएको छ । गीतले वर्तमान समयमा फैलिएको महामारीको कुरा पनि मार्मिक तरिकाले जोडिएको छ । खास गरी आफ्नी अर्धाङ्गिनी र बाबुआमालाई पत्र मार्फत उसले पठाएको सन्देश यथार्थपरक, समसामयिक र मन छुने किसिमको छ । ध्रुव प्रसाद अम्गाई लामो समयदेखि गीत सङ्गीतमा सक्रिय छन् ।