नेपाली फिल्म इन्डस्ट्रीमा महानायकको रूपमा दर्शकले मनमा राखेका अभिनेता राजेश हमाल लामो समय यता चलचित्रको दुनियाँबाट टाढा छन् । एक समय कहिले हात खाली नबस्ने अभिनेता हमाल आफूले काम गर्ने चलचित्र र आफ्नो आगामी प्रोजेक्टका लागी अभ्यास गर्नमा नै व्यस्त छन् । पछिल्लो समय उनले अभिनय गरेका दुई चलचित्र 'शकुन्तला' र 'बाग्मती'ले दर्शकको मन जित्न सकेन र बक्स अफिसमा असफल साबित ठहरियो । यि दुई चलचित्रले अपेक्षा गरिए अनुरूप प्रतिफल नपाउँदा हमालले अबका दिनमा चलचित्र छनौटमा निकै ध्यान दिने निर्णय लिए । जसको कारण चार वर्ष उनी चलचित्रको दुनियाँबाट बाहिरिए । लकडाउनका बेला अन्य सेलिब्रेटी कलाकार म्युजिक भिडियोमा आकर्षित हुँदा हमाल लाई पनि प्रस्ताव नआएको होइन । अब भने लामो समय चलचित्र हलमा नलाग्दा निराश बहेका दर्शकको लागी म्युजिक भिडियोमा काम गर्ने भएका छन् ।
केही समयको ग्यापमा म्युजिक भिडियोमा काम गर्ने सोच बनाएको उनको भनाई छ । जसअनुसार उनले आइतबार मात्र 'जुनमा हेरूँ तिमीलाई' बोलको गीतको म्युजिक भिडियोको छायाङ्कन सकाएका छन् । उनले अवस्था सामान्य नभै दर्शकको स्वास्थ्यलाई ध्यान राख्दै हल खोल्नु नहुने बिचार राखेका छन् । अहिले हतारमा हल खोलेको अवस्थामा भोलिका दिनमा आउने समस्याको बारेमा पनि गम्भीर भएर सोच्नुपर्ने उनी बताउँछन् । यसै गरी महानायक हमालले आफ्नो भावी योजना बारे बताउँदै कोरोना महामारीपछि आफ्नै निर्देशनमा चलचित्र बनाउने योजना रहेको जनाएका छन् । उनका अनुसार यति बेला चलचित्रको प्रि प्रोडक्सनको काम भइरहेको छ । जसमा उनी आफैँ पनि मुख्य भूमिकामा रहने छन् ।