चलचित्र विकास बोर्डले प्रदेश १ को चलचित्र छायाङ्कन स्थल निर्माण सम्भाव्यता अध्ययन समिति गठन गरेको छ । भदौ २२ गतेको बोर्डको बैठकले समिति गठन गरेको थियो । बैठकले गरेको निर्णयको आधारमा प्रदेश १ को लागी समिति बनाएको हो । केन्द्रीय सरकारको 'प्रत्येक प्रदेशमा फिल्म छायाङ्कन स्थल निर्माण गर्ने' कार्यक्रम बनाएको छ । बोर्डले यसै योजनालाई मूर्त रूप दिने क्रममा सोमबार समितिको ब्यहोरा सार्वजनिक गरेको छ । बोर्डले आफ्नो कार्यक्रममा वार्षिक कार्यक्रममा उपयुक्त छायाङ्कन स्थलहरूको बारेमा अध्ययन अवलोकन गरी प्रतिवेदन तयार गर्न' सात वटै प्रदेशमा समिति गठन गर्ने क्रममा प्रदेश १ मा समिति बनाएको हो । सम्भाव्यता अध्ययन समितिको सहसंयोजक चलचित्रकर्मी प्रेम सुब्बा रहेका छन् । यसै गरी सदस्यहरूमा दीपाश्री निरौला, दयाहाङ राई, राजकुमार पोखरेल, विजयकुमार मगर र प्रभाकर भट्टराई रहेका छन् । समितिलाई आउँदो पुसभित्र प्रतिवेदन तयार गरी बोर्ड र प्रदेश सरकारको सम्बन्धित निकायलाई बुझाउन निर्देशन दिइएको छ ।