सुरिलो स्वरकी धनी गायिका अन्जु पन्तको आवाजमा 'आमा' बोलको गीत सार्वजनिक भएको छ । अभिनेत्री द्वय मिथिला शर्मा र सुरक्षा पन्तको अभिनय रहेको गीतको म्युजिक भिडियो मङ्गलबार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा नरेश प्रधानको शब्द रहेको छ भने हरि लम्सालको सङ्गीत रहेको छ । सार्वजनिक गीतले आमाले सन्तान प्रति गर्ने प्रेम उनको जिम्मेवारी र भोलिका दिनमा आमाको साथ नहुँदा आफ्ना सन्तानले कस्ता कस्ता परिस्थिति सामना गर्नु पर्ने हो भन्ने चिन्ताले आमालाई सताउने कुरा व्यक्त गरिएको छ । साथमा गीतको भिडियोमा शारीरिक रूपले अशक्त भएकी सन्तानको स्याहार गरिरहेकी आमाको पिडा प्रस्तुत गरिएको छ । आमा हुनुको खुसी अनि सन्तानको दुखले दिएको पिडालाई भिडियोमा निकै मार्मिक र सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । भिडियोमा अभिनेत्री मिथिला शर्मा र सुरक्षाले निकै दमदार अभिनय गरेका छन् । भिडियो अनुप चापागाईँले निर्देशन गरेका हुन् भने उत्सव दाहालले खिचेका हुन् । यस म्युजिक भिडियो स्टुडिओ साउन्ड मिलको युट्युब च्यानलमा उपलब्ध छ ।