कोरोना भाइरस महामारीको कारण लामो समयदेखी चलचित्र क्षेत्र ठप्प छ । लकडाउन खुकुलो भएसँगै चलचित्र प्रदर्शनमा आउने टुङ्गो नभए पनि चलचित्र निर्माण घोषणा भने भइरहेका छन् । सरकारले चलचित्रमाथि लगाएको अङ्कुश अझ खुकुलो नगर्दा छायाङ्कन बिचमा नै रोकिएका र छायाङ्कनको लागी तयार भएमा चलचित्र रोकिएका भए पनि निषेधाज्ञा खुलेपछि फ्लोरमा जाने गरी चलचित्र निर्माण घोषणा निर्माताले गरिरहेका छन् । यसै बिच सञ्चारकर्मी, निर्माता रघुनाथ सापकोटाले पनि फिल्म निर्माण गर्ने भएका छन् । डेढ दशक अगाडि चलचित्र निर्माण गरेका सापकोटाले निर्माण गर्ने चलचित्रमा अभिनेता नाजिर हुसेन अनुबन्धित भएका छन् । सोमवार अभिनेता हुसेनसँग सापकोटाको सहमति भएको हो । चलचित्रको कथामा सुहाउने भएका कारण नाजिरलाई मुख्य अभिनेतामा अनुबन्ध गरेको निर्माता सापकोटाले जानकारी दिएका हुन् । सामाजिक विषयवस्तुमा आधारित यस चलचित्रको लागी अभिनेत्री सँग कुरा भइरहेको र केही दिनमा नै अनुबन्धित समेत हुने निर्माताको भनाइ छ । स्थिति सामान्य भएपछि एक कार्यक्रमको आयोजना गरेर चलचित्रको नाम र निर्देशक सार्वजनिक गर्ने उनको तयारी छ । चलचित्र फागुनबाट छायाङ्कन सुरु हुने तयारीमा छ । यति बेला चलचित्रको प्रि-प्रोडक्सनको काम भइरहेको छ । यसले नेपाली समाजको कहालीलाग्दो यथार्थलाई प्रस्तुत गर्ने र चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने सापकोटा बताउँछन् । सेलिब्रेटी नेपालको ब्यानरमा निर्माण हुने चलचित्रको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । चलचित्र काठमाडौँ लगायत विभिन्न स्थानमा छायाङ्कन हुनेछ.