वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्ला केही दिनमा काठमान्डौ लगायत नेपालका विभिन्न स्थानमा कोरोना सङ्क्रमणको दर बढिरहँदा जोखिम बढेसँगै पिसिआर टेस्ट गराउनेको सङ्ख्या बढिरहेको छ । यसै गरी पछिल्ला केही दिन यता कलाकार लगायत राजनैतिक व्यक्तिहरूलाई पनि एक पछि अर्को गर्दै कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । आफूलाई कोरोना पोजेटिभ भएको बारे कलाकार आचार्यले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आचार्यले जानकारी दिएका हुन् । उनले आफूलाई सामान्य लक्षण देखिएकाले हिजो परीक्षण गरिएको र आफू र श्रीमती दुवै जनाको कोरोना सङ्क्रमण पुष्टि भएको रिपोर्ट आज आएको बताएका छन् । उनले आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन आग्रह समेत गरेका छन् । उनले आफूहरूको स्वास्थ्य अवस्था सामान्य भएको जानकारी दिएका छन् ।

उनी लेख्छन्, सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पिसिआर गरेका थियौँ । हामी दुवै जनाको कोरोना सङ्क्रमण पुष्टि भएको रिपोर्ट आज आयो । हाम्रो स्वास्थ्य अवस्था सामान्य छ । हामीसँग सम्पर्कमा रहनु भएका सम्पूर्ण महानुभावहरूले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला । यहाँहरूको माया, आशीर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना सङ्क्रमणलाई जित्ने छौँ । कोरोना सङ्क्रमण व्यापक रूपमा फैलिएको हुँदा यहाँहरू सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा अवलम्बन गर्नु हुन अनुरोध गर्दछौँ ।' नेपालीको मनमा बस्न सफल अनि सबैलाई हँसाउने कलाकार हरिवंश आचार्य र उनकी पत्नीलाई शीघ्र स्वास्थ्य लाभको कामना !!