कोरोना महामारीले प्रत्यक्ष रूपमा चलचित्र क्षेत्रलाई असर पारे पनि नेपाली गीत सङ्गीतको क्षेत्र भने निकै चलायमान भइरहेको छ । केही समय यता चलचित्र जस्तै ठुलो लगानीमा म्युजिक भिडियोहरू बन्न थालेका छन् र ठुलो पर्दामा जमेका कलाकारको आकर्षण पनि म्युजिक भिडियोमा बढ्दो छ । त्यस्तैमा नायक सलोन बस्नेतले आफ्नै प्रोडक्सन हाउस 'प्रफेक्ट प्लान'बाट नयाँ म्युजिक भिडियोको छायाङ्कन सकाएका छन् । उक्त म्युजिक भिडियोमा उनको साथमा पछिल्लो समयकी चर्चित गायिका स्मिता दाहालको अभिनय रहेको छ । छायाङ्कनबाट प्राप्त केही तस्बिरमा उनीहरूलाई बेहुला बेहुलीको भेषमा देख्न सकिन्छ ।
सार्वजनिक हुन लागेको गीतमा गायिका स्मिता दाहालको स्वर रहेको छ । भने राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको छ । शिशिर खातीको निर्देशन रहेको यस गीतको भिडियोमा सलोन र स्मितासगै प्रकाश घिमिरे, गौतम धिमाल, सुुमिन गुरुङको अभिनय रहेको छ । भिडियोलाई संकल भुजेलले खिचेका हुन् भने कोरियोग्राफी आर्जु बैजुको रहेको छ । भिडियोको सम्पादन बनिश शाहले गरेका हुन् । मंगहो लगानीका तयार भएको भिडियो चाडै रिलिज गरिने सलोन बताउँछन् ।