नेपाल चलचित्र विकास बोर्डले कोरोनाले थलिएका फिल्मकर्मीको हितमा काम गरिरहेको छ । छ महिना यता फिल्म हल सञ्चालनमा नआउँदा र चलचित्र सम्बन्धी सबै काम ठप्प हुँदा निर्माता निकै ठुलो मारमा परेका छन् । बनेर थन्किएका देखी निर्माणको विभिन्न चरणमा रहेका चलचित्रहरू अब के गर्ने भन्ने दुबिधामा निर्माता छन् । यही समस्यालाई मध्यनजर गर्दै बोर्डले विभिन्न राहत प्याकेज घोषणा गरिरहेको छ । यसैबिच बोर्डले सुटिङमा जान तयार भएर बसेका निर्माताहरुलाई विशेष प्याकेज ल्याएको छ । जस अनुसार छायाङ्कनमा जाने सबै चलचित्रको बिमा गरिनु पर्ने छ । जसलाई बोर्डले सहकार्य गर्ने भएको छ । कुनै पनि प्रोजेक्ट फ्लोरमा गइसकेपछि त्यसमा प्राविधिक कारण वा प्राकृतिक कारणले हुने हानी नोक्सानी असुलका लागि प्रोजेक्ट बिमालाई अघि सारिएको हो । यस बिमाको लागि भने प्रोजेक्टले १ देखि १ दशमलव ५० प्रतिशतसम्म रकम बिमा कम्पनीलाई तिर्नुपर्ने हुन्छ ।

६ महिना भित्र सुटिङमा जान लागेका चलचित्रहरूको बिमा बापत लाग्ने रकम बोर्डले तिरिदिन लागेको बोर्डका सदस्य महर्जनले बताएका छन् । यस्तै सुटिङमा जान लागेको चलचित्रको सम्पूर्ण युनिटको कोरोना टेस्ट समेत बोर्डले निःशुल्क गरिदिने व्यवस्था मिलाएको छ । सुटिङमा जान कोरोना टेस्ट गरेर मात्र जानुपर्ने र सकेर फर्कँदा पनि कोरोना टेस्ट गर्नुपर्ने बोर्डको निर्देशिकामा समावेश गरिने जनाइएको छ । यो सँगै सुटिङको क्रममा प्रयोग हुने पन्जा, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामाग्रीहरू पनि बोर्डले सहयोग गर्न लागिएको बताइएको छ । यस निर्णयले चलचित्र छायाङ्कनमा जान तयार भएर बसेका फिल्म मेकरलाई केही सहज हुने देखिन्छ । यस अघी महामारीको मारमा परेका चलचित्रलाई राहत पुर्‍याउने उद्देश्यले हल खोलेको मितिले ६ महिना भित्र रिलिज हुने चलचित्रलाई बोर्डले प्रचारमा सहयोग गर्ने घोषणा गरेको थियो ।