दैनिक रूपमा एक भन्दा बढी बलात्कारका घटना सञ्चार माध्यममा सार्वजनिक भइरहेका छन् । यसले सर्वसाधारण देखी कलाकार यस किसिमको अत्याचार र अपराधले आक्रान्त भइरहेका छन् । कानुनी रूपले कडा भन्दा कडा कारबाहीको व्यवस्था नहुँदा अपराधीहरू आज पनि खुलेआम अपराध गर्न छोडिरहेका छैनन् । यसै विषयलाई लिएर कलाकर्मीहरूले आफ्नो विचार राखिरहेका छन् । अभिनेत्री ॠचा शर्माले समाजमा हुने दुर्व्यवहार देखी संरक्षित अपराधको बारेमा बोल्दै आइरहेकी छिन् । उनै अभिनेत्री शर्माले प्रधानमन्त्रीलाई पत्र लेखेकी छिन् । उनले सामाजिक सञ्जालमा एक लामो र मार्मिक पत्र लेखेकी छिन् जसमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेकी छिन् । उनले पत्रमा आफूलाई डर लाग्न थालेको बताएकी छिन् । उनी लेख्छिन्, 'आदरणीय प्रधानमन्त्री ज्यू, एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ ।' उनी भन्छिन्, मलाई भोलिको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुँला कि भन्ने डर लाग्न थालेको छ ।

मलाई भोलि छोरा पाउन नि डर लाग्न थालेको छ । मैले जति संस्कार र अनुशासन सिकाउन खोजे पनि,यो देश र यहाँको कानुनले केही नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पिर पर्न थालेको छ ।' उनले दिनहुँ स-साना नाबालकहरूलाई पनि बलात्कार गर्ने अपराधी पनि केही दिनमा नै समाजमा खुलेर हिँड्ने गरेको देख्दा आफूलाई लज्जा बोध हुने र देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयन निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परीक्षा दिएको युगमै छौ झैँ लाग्ने उनको भनाइ छ । उनी अगाडी लेख्छिन्, 'हामी प्रविधिमा अगाडि भए पनि सोचले अझै पिछडिएका छौ । जनताको नभए पनि एक चोटी परिवारमा छोरी–नातिनीको आँखामा आँखा जुधाई भनी हेर्नुहोस् कि यो देशमा उनीहरू सुरक्षित छन् ? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउँदै छन् ।' राष्ट्रपति स्वयं महिला भएको देशमा बलात्कार जस्तो जघन्य अपराधलाई कानुन कार्यान्वयन गर्ने निकायहरूले सामान्य लिएको देख्दा अझै आफूहरू सीताले अग्नि परीक्षा दिएको युगमा नै रहेको महसुस हुन थालेको पनि उल्लेख गरेकी छिन् । उनले प्रधानमन्त्रीलाई एक चोटी परिवारमा छोरी-नातिनीको आँखामा आँखा जुधाइ भनी हेर्नुस् भनी आग्रह पनि गरेकी छिन् ।