अभिनेता प्रदीप खड्का आफूले लिएको कामको लागी निकै मेहनत गर्ने कलाकार हुन् । चलचित्रबाट 'प्रेम गीत' बाट निकै चर्चामा आएका खड्का पछिल्लो समयका महँगा एवं व्यस्त अभिनेता हुन् । लकडाउनले पछिल्लो छ महिना घरमा रहे पनि प्रदीपको हातमा एक पछि अर्को चलचित्र छन् । जसको लागी उनले निकै मेहनत गरिरहेका छन् । उनको आगामी प्रोजेक्ट 'हुतुतु'को लागी तयारीमा रहेका खड्का यति बेला पोखरामा छन् । उनी हुतुतुको स्क्रिप्टको लागी पोखरा गएका बेला पोखरामा रङ्गकर्मी तथा कलाकार अनुप बरालबाट अभिनयको कक्षा लिइरहेका छन् । पोखराको एक रिसोर्टमा कलाकार बरालले प्रदीपलाई अभिनय सिकाइरहेका छन् । प्रदीपले निकै मन लगाएर अभिनय कौशल सिकिरहेका छन् । अनुप बरालले उनलाई तीन महिनासम्म अभिनय सिकाउने छन् । उनले आफूले पहिलो पटक अभिनयको औपचारिक कक्षा लिएको बताएका छन् । यति बेला उनी दैनिक ६ घण्टा कक्षा लिइरहेका छन् । पहिले देखी नै आफुलाई अभिनयको कक्षा लिन मन भएको तर व्यस्तताले यो अवसर नजुरेको उनी बताउँछन् । यसले उनको लकडाउन उपलब्धिमूलक बनाइदिएको उनको भनाइ छ ।