निर्मला बलात्कार र हत्याको कथामा आधारित भएर निर्माण भएको चलचित्र 'कोपिला' मोबाइल थिएटरमा सार्वजनिक भएको छ । चलचित्र ओएसआर डिजिटलको 'दामी म्युजिक एप'मा रिलिज भएको हो । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आधारित भएर बनेको चलचित्र दामी म्युजिक एपको मोबाइल थिएटरमा दैनिक ४ सो रिलिज भइरहेको छ । ७५ रुपैयाँ तिरेर मोबाइल थिएटरको हल वानमा 'कोपिला' हेर्न सकिन्छ । दामी म्युजिक एपको मोबाइल थिएटरमा ४ वटा पर्दा रहेको छ । शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्र राम्रो बनेको प्रतिक्रिया आइरहेको छ । गणेश गिरी, सरिता गिरी, सञ्जीवनी खरेल, प्रकृति खरेल, जुनिफर पौडेल, श्रेया आचार्यलगायतको अभिनय रहेको चलचित्रमा निर्मलाको भूमिका सञ्जीवनी खरेलले निभाएकी छिन् । निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति देखाइएको छ । फिल्ममा रामेश्वर कार्कीको छायाङ्कन, दीपक शर्माको सङ्गीत र समीर मियाँको सम्पादन रहेको छ ।