नेपाली फिल्म इन्डस्ट्रीका वरिष्ठ कलाकार नीर विक्रम शाहको आज जन्मदिन परेको छ । नेपाली चलचित्र क्षेत्रका सफल निर्देशक, कलाकार, निर्माता, लेखक तथा गीतकार नीर विक्रम शाह आज आफ्नो ७४ औँ जन्मदिन मनाउँदै छन् । चलचित्र 'परिवर्तन'बाट नेपाली फिल्म इन्डस्ट्रीमा प्रवेश गरेका शाहले कुसुमे रुमाल, प्रेम पिण्ड, नाता रगतको, ढुकढुकी, बादलपारि, सिउँदोको सिन्दूर, गौँथली, जीवनसाथी, बाचा बन्धन, मुना मदन, सानो संसार, किस्मत लगायतका चलचित्रमा जीवन्त अभिनय गरेका छन् । सफल कलाकारको साथमा सफल निर्देशक समेत रहेका शाहले वासुदेव, पच्चिस वसन्त, बसन्ती, राजमती, सेतो बाघ जस्ता चलचित्र निर्देशन गरेका छन् । बहु आयामिक व्यक्तित्वका धनी निर शाह ले गीत सङ्गीतमा पनि उत्तिकै योगदान दिएका छन् । उनले पर्खिबसे आउला भनी, छोरी मलाई भागी भागी नसताऊ, गहिराइमा डुब्दै नडुब, प्यारी बसन्ती जस्ता गीत रचना गरेका छन् । नेपाल टेलिभिजनको संस्थापक अध्यक्ष समेत रहेका शाहलाई जन्मदिनको अवसरमा चलचित्रकर्मी तथा शुभ चिन्तक र उनका दर्शकले शुभकामना दिइरहेका छन् । उमेरले पाको भइसके पनि आज पनि कलाकारिताको क्षेत्रमा उत्तिकै सक्रिय शाहलाई जन्मदिनको धेरै धेरै शुभकामना!!