दुई दिन अघि बलिउड अभिनेता अक्षय कुमार र कियारा आडवाणी अभिनीत 'लक्ष्मी बम'को ट्रेलर सार्वजनिक भयो । यस हरर कमेडीमा एक तेस्रो लिङ्गी व्यक्तिको आत्मा बदला लिनका लागि अक्षयलाई आफ्नो वशमा पारेको कथा रहेको ट्रेलरलाई दर्शकले निकै रुचाइरहेका छन् । लामो समयको सुनसान पछि बलिउडमा तहल्का मच्चाउने गरी रिलिज भएको ट्रेलरले कोरोना महामारीले सुस्ताएको फिल्म बजार तताइरहेको छ । सार्वजनिक ट्रेलरले चलचित्र प्रति थप कौतुहलता थपिदिएको छ । बलिउडमा अक्षय कुमार यस्ता अभिनेता हुन् जसले अभिनय गरेका चलचित्र पछिल्लो समय एक पछि अर्को सुपर हिट बनिरहेका छन् । यो चलचित्रले पनि आफ्नो रेकर्ड कायम गर्ने अनुमान गर्न सकिन्छ । लक्ष्मी बम भारतमा २४ घण्टाभित्र ७ करोड बढी भ्युसहित सबैभन्दा धेरै हेरिएको फिल्मको ट्रेलर बन्न सफल भयो ।
यस ट्रेलरलाई दर्शकले मात्र होइन बलिउड कर्मीले पनि निकै रुचाएका छन् । राघव लरेन्सद्वारा निर्देशित, डिज्नी हट स्टार भिआइपीद्वारा प्रस्तुत, अ केप अफ गुड फिल्म्स, तुषार इन्टरटेन्मेन्ट हाउस र शबिना इन्टरटेन्मेन्टद्वारा निर्माण गरिएको यस चलचित्र यही तिहारमा प्रदर्शनमा आउँदै छ ।