छ महिना लामो लकडाउन अवधिभर अभिनेता राजेश हमाल घरमा नै बसे । यस बिच उनले कुनै ठुलो प्रोजेक्टमा हात हालेनन् । केही वर्ष यता चलचित्रको दुनियाँ भन्दा केही पर नै रहेका हमाल आफ्नै व्यक्तिगत जीवन र कर्ममा व्यस्त रहे । लामो समयको अन्तराल पछि हमाल आफूलाई फिल्मी दुनियाँमा फर्काउने कोसिसमा छन् । उनले  केही दिन अगाडी एउटा म्युजिक भिडियोको छायाङ्कन गरे । उसो त पछिल्लो समय म्युजिक भिडियोबाट फिल्मी पर्दाका कलाकारहरू लाभान्वित भइरहेका छन् । भनौँ यसमा उनीहरूको आकर्षण बढ्दो छ । यति बेला चलचित्रको न प्रदर्शनको टुङ्गो छ न व्यावसायिक रूपमा अगाडी बढ्न सक्ने सङ्केत नै । यसै बिच अभिनेता हमाल म्युजिक भिडियोमा काम गर्दै छन् । उनले भर्खर सक्काएको म्युजिक भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी पनि फिचर्ड छिन् । अवस्था सामान्य भएपछि चलचित्र निर्माणको तयारीमा रहेका हमालले आफै चलचित्र निर्देशन गर्ने जसमा मुख्य भूमिका उनी नै रहने पनि खुलाइसकेका छन् । यद्यपि अभिनेता हमालले उनको अपोजिटमा को हुने छ भन्ने खुलाएका छैनन् ।

उनले यस बारेमा केही नबोले पनि फिल्म वृत्तमा म्युजिक भिडियोमा सँगै काम गरेका र काम अनि अभिनयको तारिफ गरेका अभिनेत्री वर्षा सिवाकोटीलाई नै आफ्नो चलचित्रमा लिने योजनामा हमाल रहेको चर्चा चलिरहेको छ । केही दिन अघी वर्षाले पनि आफूलाई राजेश हमालको चलचित्रमा काम गर्न मन भएको  खुलाएकी थिइन् । हमालको रोजाइमा नायिका सिवाकोटी पर्नु कारण भने उनी विवादमा नपर्नु मानिएको छ । म्युजिक भिडियोको लागी हमाल आफैले वर्षालाई छानेको र कुनै पनि विवादमा नपरेको भन्दै हमालले सिवाकोटीलाई रोजेको बुझिएको हो । हमाललाई अफर गर्न गएको 'मञ्जरी' गीतको टिमले विभिन्न मोडलको नाम अगाडि सारेको र नाम चलेका मोडलहरूको नाम अगाडि सार्दा हमालले वर्षालाई रोजेको खुलेको छ । एकातिर उनले विवाद रहित नायिका खोज्नु र अर्को तिर उनको कामको प्रशंसा खुलेर गर्नुले पनि हमालको आगामी प्रोजेक्टमा वर्षा नै हुन सक्ने अनुमान लगाउन सकिन्छ । यति बेला हमाल ले निर्देशन गर्ने भनिएको चलचित्र प्री प्रोडक्सनमा छ ।