चलचित्र ‘प्रेमगीत’बाट एकाएक चर्चामा आएका नायक प्रदीप खड्काको व्यस्तता अहिले बढ्दो छ । उनी अभिनित ‘प्रेमगीत २’ दोस्रो हप्तामा प्रवेश गरिसकेको छ । चलेको हप्ता दिनमा नै लगानी सुरक्षित गरेको ‘प्रेमगीत २’ले प्रदीपलाई महँगो कलाकार बनाएको छ ।यति बेला चासोको विषय के पनि छ भने ‘प्रेमगीत २’मा ८ लाख पारिश्रमिक लिएका प्रदीपले अब कति लिन्छन् होला ? बुझिए अनुसार प्रदीपलाई चलचित्र ‘रानीमहल’को लागी प्रस्ताव गरिएको छ । जसमा उनलाई १५ लाख पारिश्रमिक दिने अफर गरिएको थियो ।
नेपाली चलचित्रमा अहिले सम्म धेरै पारिश्रमिक लिने नायकमा अनमोल केसी पर्दछन् । अनमोलले ‘कृ’को लागी २० लाख लिएका थिए । अनमोललाई पछइरहेका प्रदीपलाई ‘रानीमहल’को लागी १५ लाख अफर गरेता पनि प्रदीपले त्यसबारेमा अझ नसोचेको बताएका छन् । दास्रो हप्तामा ‘प्रेमगीत २’ चलिरहन्दा हाल आराम गरिरहेका प्रदीपले आफूलाई चलचित्रको अफर आएता पनि त्यसबारेमा अझै तय नगरिएको उनी बताउछन् । ‘अफर आएको छ । तर मैले कथा हेर्न पाएको छुइन् । अहिले नै फिक्स् भएको छैन’ उनी बताउछन् ।
चलचित्र ‘प्रेमगीत २’ रिलिज हुनु अगावै प्रदीपको मुख्य भूमिका रहेर ‘दिपेन्द्र सरकार’को घोषणा निर्माता सन्तोष सेनले गरिसकेका छन् । ‘प्रेमगीत’ र ‘प्रेमगीत २’मा आफ्नो क्रेज देखाइसकेका प्रदीपलाई नयाँ स्टारको रूपमा लिइने गरिन्छ । हिट चलचित्र र त्यसको सिक्वेलले चर्चामा रहेका प्रदीप बाहिरी ब्यानरको चलचित्रमा काम गरेर दर्शक हलसम्म तान्न सक्छन् कि सक्दैनन् त्यो पछिका दिनमा थाहा हुने नै छ ।