गायन रियालिटी शो 'नेपाल आइडल' का विजेता बुद्ध लामा गीत सङ्गीतको क्षेत्रमा रुचाइएको नाम हो । उनले श्रोताको मनमा बस्न सफल गीतमा आवाज दिएका छन् । आवाजको जादुले श्रोताको मन जितेका बुद्ध यति बेला भने नृत्यको दुनियाँमा व्यस्त छन् । आवाजको माध्यमले श्रोतालाई मन्त्र मुग्ध बनाउन सफल लामा यति बेला कम्मर मर्काएर र नृत्यका कैयौँ आयामहरूमा आफूलाई रूपान्तरित गरेर दर्शकको मन जितिरहेका छन् । हुन त बुद्ध नृत्यका पारखी भने होइनन् । मञ्चमा गीत गाउँदा झुमे जस्तो होइन प्रतिस्पर्धामा उत्रिएर नाच्नु भनेको । नाच्ने बारेमा कहिल्यै नसोचेका लामा यतिखेर नेपालको डान्सिङ रियालिटी शो 'डान्सिङ विथ स्टार्स' मा आफ्नो डान्सिङ कला देखाइरहेका छन् । उनलाई नाच्न सिकाएको भनेकै यही शोले हो । अझ भनौँ उनकी कोरियोग्राफर केविका खत्रीले नै हो उनलाई नाच्न सिकाएको । बुद्ध यस कार्यक्रममा जोडिनु अगाडिको कुरा सम्झिँदै गीत सङ्गीतमा रुचि राख्ने आफूलाई डान्सिङ विथ स्टार्सका निर्देशक लक्ष्मण पौड्यालले आफूलाई कार्यक्रमको लागी एप्रोच गरेको र सुरुमा त एउटा शो जितिसकेको मान्छेले अर्को शोमा जाँदा फेरी नराम्रो प्रभाव पर्ने हो कि भन्ने भएको र मुख्य कुरा त आफूलाई नृत्यको कुनै पनि ज्ञान नभएकोले तयार नभएको बताउँछन् ।

तर कार्यक्रमका निर्देशक पौड्यालले कार्यक्रमको फर्म्याट बुझाएपछि मात्र आफू तयार भएको उनी सुनाउँछन् । दर्शकले बुद्धको नृत्य निकै रुचाइरहेका छन् । भने उनको नृत्य कौशलको तारिफ पनि भइरहेको छ । बुद्धको डान्स र उनलाई सिकाउँदा गरेको अनुभव बारे सुनाउँदै कोरियोग्राफर केविका भन्छिन्, 'बुद्ध सिकाएको कुरा छिट्टै टिप्छन् र नयाँ कुरा सिक्न निकै आतुर हुन्छन् ।' बुद्धले आफूले सोचेको भन्दा राम्रो प्रस्तुति दिइरहेको छ छिट्टै सिकिरहेको उनी थप्छिन् । बुद्धले आफूलाई दर्शकले रुचाउँदैनन् भन्ने लागेको र आफूलाई धेरैले एउटा शोको विजेता भैसकेको मान्छे फेरी अर्को शोमा नजानु उचित हुने सल्लाह दिएको तर आफूलाई च्यालेन्ज लिएमा धेरै कुरा सिक्न सक्ने विश्वास भएकाले यस कार्यक्रमको लागी तयार भएको बताउँछन् ।

बुद्धले आफूलाई केविकाले राम्रोसँग सिकाउनेमा आफूलाई विश्वास भएको र त्यो विस्वास सत्य सावित हुँदै गएको बताएका छन् । आफूलाई केविकाले गरेको गाइडले निकै हौसला दिएको बुद्धको भनाइ छ । आजसम्म आफूलाई दर्शकको साथ मिलेको र अबका दिनमा अझै समर्थन गर्ने बुद्ध र केविकाको विश्वास छ ।