उति सारो विवादमा नआउने अभिनेता राजेश हमाल विवादमा तानिएका छन् । उनले केही महिना यता सञ्चालन गर्दै आएको टेलिभिजन कार्यक्रम 'जातको प्रश्न' लाई लिएर विवाद बढेको हो । यस कार्यक्रममा 'क्रिश्चियन एड नेपाल' लगानी रहेको भन्दै उनको आलोचना भइरहेको हो । नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य बढेको भन्दै विवाद बढिरहेका बेला अभिनेता हमालले चलाएको 'जातको प्रश्न'मा क्रिश्चियन एडको लगानी रहेको खुलेपछि विवादमा बढेको हो । नेपाली समाजमा वर्षौँदेखि जरा गाडेर बसेको जातीय विभेद र छुवाछुत अन्त्यका लागि समता फाउन्डेसनले कान्तिपुर टेलिभिजनबाट प्रसारण गर्दै आएको कार्यक्रमले हिन्दुहरूलाई बदनाम गर्ने काम गरेको भन्दै हिन्दु समर्थकहरूले हमालको विरोध गर्दै पुत्ला समेत जलाएका छन् । राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले पछिल्लो घटनाक्रमले राजेश हमाल नायक नभएर खलनायक भएको पुष्टि गरेको बताएका छन् । हमालले कार्यक्रम छाडेर हिन्दु समाजसँग माफी माग्नु पर्ने र यस कार्यक्रम पनि बन्द हुनुपर्ने माग हिन्दु समर्थकले राखेका छन् ।
हिन्दुहरूलाई बदनाम गर्ने उद्देश्य कार्यक्रमले राखेको भन्दै आलोचना बढेपछि समता फाउन्डेसनले एक विज्ञप्ति जारी गर्दै कार्यक्रममा कुनै निश्चित जात, धर्म, लिङ्ग, क्षेत्रप्रति पूर्वाग्रह नराखेको बताएको छ । हमालको फोटोलाई दुरुपयोग गरी सामाजिक सञ्जालमा गलत अभिव्यक्ति राखेर अफवाह फैलाएकोप्रति पनि फाउन्डेसनले ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ । यसबारे अभिनेता हमालले कुनै प्रतिक्रिया दिएका छैनन् ।