सुगम सङ्गीतका स्थापित गायक शिव परियारलाई अचेल नयाँ गीत सङ्गीतमा उति सुनिँदैनन् । एक समयका निकै चर्चित गायक परियारका गीत सङ्गीत आज पनि उत्तिकै सुनिन्छन् र उनका आवाजका पारखीलाई उनका गीत सङ्गीत कहिल्यै पुराना लाग्दैनन् । यिनै गायकले पछिल्लो समय गीत सङ्गीतको क्षेत्रमा देखिइरहेको विकृति माथि व्यङ्ग गरेका छन् । उनले गीत भनेको अन्न बालीसँग दाँजेका छन् । यति बेला नेपाली गीत सङ्गीत निकै प्रतिस्पर्धात्मक बनेका छन् । जुन एक हिसाबले राम्रो पक्ष पनि हो तर प्रतिस्पर्धामा आउनकै लागी गीत सङ्गीतमा हुनुपर्ने मिठास मौलिकता हराएको आभास हुने भने गरेको छ । यिनै विषयमा आधारित रहेर गायक परियारले फेसबुकमा एउटा स्ट्याटस लेख्दै साङ्गीतिक क्षेत्रको पछिल्लो विकृतिका बारेमा घुमाउरो शैलीमा आफ्नो धारणा व्यक्त गरेका छन् । उनी लेख्छन्, 'सङ्गीत भनेको पनि अन्न बाली जस्तै लाग्न थालेको छ हिजो आज ! जसरि सही हावा पानी र वातावरण पाउँदा अन्न बाली सप्रिन्छ ,नपाउँदा बिग्रन्छ! त्यसै गरी सङ्गीत पनि फुल्न फल्न सही हावा पानी र वातावरण चाहिने रहेछ !
अन्न बाली रोप्न माटो,मिल्दो हावा पानी र वातावरण चाहिए जस्तै सङ्गीत रोप्न पनि श्रोताहरूको मिल्दो मन ,भावना र मस्तिष्क चाहिने रहेछ ! हुन त अचेल तिन महिनामा पाक्ने बालिलाई अनेक बिसादि प्रयोग गरेर एकै महिनामा पकाइन्छ यसरी पकाइएको अन्न बाली शरीरका लागि स्वास्थ्यकर पक्कै छैन ! सङ्गीतमा पनि लगभग त्यस्तै भएको छ यसरी पाकेको सङ्गीत सङ्गीत जगतैको लागि के स्वास्थ्यकर होला त ? ? ? सोचमा छु !' पछिल्लो समय चलचित्रको बजार कोरोना महामारीले गर्दा बन्द रहँदा मौलाएको म्युजिक भिडियोले साँच्चै नै सोच्नु पर्ने अवस्था बनाएको छ । भ्युज, ट्रेन्डिङ र प्रतिस्पर्धाको लागी हतारमा म्युजिक भिडियो बनाउने प्रचलन बढेको छ ।
ठुलो पर्दाका स्टार कलाकारलाई लिएर म्युजिक भिडियो निर्माण गर्दा भ्युज धेरै आउने र आम्दानी राम्रो गर्न सकिने लोभले म्युजिक भिडियोमा होमिनेको सङ्ख्य ठुलो छ । तर यसरी आउँदा गीत सङ्गीत ले पाउनु पर्ने सम्मान र यसको महत्त्व भिडियो र केही दिनको लोकप्रियतामा नै सीमित हुने देखिन्छ । सायद यसै कुरालाई मनमा लिँदै गायक शिव परियारले आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् ।