कोरोना महामारी अनि बन्द भएको नेपाली फिल्म क्षेत्रले फिल्म इन्डस्ट्रीमा निर्भर धेरैलाई दुख दियो । कतिले आफ्नो रोजीरोटी गुमाएका छन् भने अन्य समयमा भ्याइ नभ्याई हुने कलाकार यस महामारीको समयमा निकै फुर्सदिला भए । लकडाउन खुलेको लामो समय भइसक्दा पनि र अन्य क्षेत्र सञ्चालनमा आउँदा पनि नेपाली फिल्म इन्डस्ट्रीलाई भने अझै अंकुश लगाइराखिएको छ । हुन त कोरोना महामारीले अझै भयावह स्थिति सृजना हुने अनुमान विज्ञहरूले गरिरहेका छन् । तर अब कति समय हात बाँधेर बस्ने भन्ने प्रश्न सहित चलचित्र निर्माणका घोषणा हुन थालेका छन् । सरकारले अनुमति दिनासाथ छायाङ्कनको लागी निस्कने तयारीका साथ निर्देशक किशोर चौधरीले चलचित्र निर्माण गर्ने भएका छन् । 'संस्कार' नाम राखिएको चलचित्रको बुधवार गीत समेत रेकर्ड गरिएको छ । 'चितवनको एयरपोर्ट' बोला रहेको गीतमा निशान भट्टराई र अस्मिता अधिकारीले स्वर दिएका छन् ।

किशोर चौधरीको शब्द र चन्द्र ज्योति ढुङ्गानाको सङ्गीत रहेको छ । गीतको शब्द तथा सङ्गीत राम्रो रहेको र दर्शकलाई नपर्ने निशान र अस्मिताले विश्वास लिएका छन् । यस गीत चलचित्रको कथा बाचकको रूपमा प्रयोग हुने छ । दिनेश कुँवर निर्माता रहेको चलचित्र 'बास्सा फिल्मस् प्रोडक्शन'को ब्यानरमा निर्माण हुने छ । पारिवारिक कथामा आधारित हुने चलचित्रमा स्क्रिप्ट निर्माता कुँवरकै रहेको छ । तनहुँ, पोखरा र वीरगन्जमा खिचिने चलचित्र सह निर्मातामा राजु अधिकारी, सुमन तेन्जल र हरि भण्डारी छन् । चलचित्रको छायाङ्कन अवस्था सामान्य भएमा तिहार पछि फ्लोरमा जाने छ ।