लकडाउनका कारण एउटै घरमा थुनिएका पात्रहरूको कथामा निर्माण भएको चलचित्र 'श्री'को फस्ट लुक सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सन्दीपदेखि वर्षा, भोलाराज सापकोटा लगायत कलाकारहरुलाई स्थान दिइएको छ । सन्दीप क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र युट्युब र टेलिभिजनमा प्रदर्शन गरिने छ । चलचित्रमा सन्दीपको साथमा वर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, वसुन्धरा भुषाल लगायतका कलाकारको अभिनय छ । छोटो समयमा एउटै घरभित्र खिचिएको चलचित्रको निर्देशन एभरेस्ट सूर्य बोहराले गरेका हुन् । निर्माण पक्षले ७२ घण्टामा चलचित्र खिचिएको प्रचार गरे पनि एउटै घर भित्र केही दिन लगाएर चलचित्र खिचिएको हो । श्री पराजुली र सविता गुरुङको लगानी रहेको चलचित्रलाई शेरबहादुर तामाङले खिचेका हुन् । चलचित्रमा सुजन बडालको सम्पादन, एलिस कार्कीको ब्याकराउण्ड स्कोर र नीरज केसीको साउन्ड मिक्सिङ रहेको छ ।