२०७५ सालमा प्रदर्शनमा आएको चलचित्र 'प्रसाद'लाई दर्शक तथा समीक्षकले निकै रुचाए । चलचित्रमा मुख्य भूमिकामा रहेका अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठको अभिनयले निकै तारिफ पनि पायो । यसै सफल मानिएको चलचित्रको सिक्वेल बन्ने पक्का भैसकेको छ । 'प्रसाद'लाई दिनेश राउतले निर्देशन गरेका थिए भने 'प्रसाद २' लाई सौरभ चौधरीले निर्देशन गर्न लागेका छन् । पहिलो भागमा रुचाइएका जोडी विपिन र नम्रता यस भागमा पनि दोहोरिने भएका छन् । बुझिए अनुसार निर्माण पक्षले चलचित्रको लागि बिपिन र नम्रतासँग सम्झौता गरिसकेको छ ।
'प्रसाद २' को कथा पनि सुशील पौडेलले नै लेख्ने र निर्माण सुवास थापाले गर्दै छन् । अवस्था सामान्य भएमा र सरकारले छायाङ्कनको अनुमति दिएमा चलचित्रको छायाङ्कन तिहारपछि सुरु गरिने बताइएको छ । सफल चलचित्रको सिक्वेल बनाउँदा दर्शक तान्न सहज हुने भएकाले पनि एक पछि अर्को सफल चलचित्रको सिक्वेल बनाउने चलन बढिरहेका बेला आफूले निर्देशन गर्न लागेको यस चलचित्रको साख नगिराउने निर्देशक चौधरीले विश्वास दिलाएका छन् ।