चर्चित भारतीय कस्ट्युम डिजाइनर भानू अथैयाको निधन भएको छ । भारतको पहिलो अस्कर अवार्ड विजेता भानूको ९१ वर्षको उमेरमा निधन भएको हो । तीन वर्षयता ब्रेन ट्युमरका कारण थला परेकी उनको बिहीबार सुतेकै अवस्थामा निधन भएको जनाइएको छ । भानू अथैयाले सन् १९८२ मा सार्वजनिक भएको फिल्म 'गान्धी'मा कस्ट्यूम डिजाइन गरेकी थिइन् । जसका लागी उनले अस्कर अवार्ड जितेकी थिइन् । यस चलचित्रलाई ब्रिटिस निर्देशक रिचर्ड अटेनबोरोले निर्देशन गरेका थिए । भानू अथैयाले एक सयभन्दा बढी चलचित्रका लागि कस्ट्यूम डिजाइन गरेकी थिइन् । उनी ५० को दशकमा निकै सक्रिय भइन् ।

उनले अन्तिम पटक कस्ट्यूम डिजाइन गरेको चलचित्र हो आमिर खानको चलचित्र 'लगान' र शाहरुख खानको 'स्वदेश' । आफू मरेर गए पनि अवार्ड सुरक्षित रहोस् भन्ने चाहाना भएकाले उनले सन् २०१२ मा अस्कर अवार्ड फिर्ता गर्ने इच्छा व्यक्त गरेकी थिइन् । भारतमा पहिले पनि ट्रफीहरू हराएका र आफूले पाएको अस्करको ट्रफी आफ्नो मृत्यु पछि नहराओस् भन्ने चाहेकाले यो निर्णय गरेको बताएकी थिइन् ।