चलचित्र 'आई एम ट्वान्टी वान'को सुटिङ सुरु हुने भएको छ । लामो समय सम्म कोरोना महामारीले रोकिएको चलचित्रको छायाङ्कन आज घटस्थापनाबाट हुन लागेको हो । निर्माण घोषणा भएको लामो समय सम्म पनि काम सुरु गर्न नसकेको चलचित्र कोरोना महामारी कै बिच फ्लोरमा जाने भएको हो । धिरज मगर र नायिका जसिता गुरुङको मुख्य भूमिका रहने चलचित्र रेनशा बान्तवा राईले निर्देशन गर्ने छिन् । डान्सको कथामा निर्माण हुने चलचित्र बारे निर्देशक राईले सामाजिक सञ्जालमा अब सुरु भन्दै चलचित्रको स्क्रिप्ट पोस्ट गरेकी छिन् । चलचित्रका निर्माता प्रज्ज्वल शमशेर जबराले यस कुरा पुष्टि गर्दै एक हप्ताको सेड्युल बनाएर चलचित्र छायाङ्कन गर्न लागिएको बताएका छन् । उनका अनुसार एक साता छायाङ्कन गरेपछि दसैँको लागि केही दिन काम रोकिने र पछि फेरि तिहारसम्म काम हुने छ । चलचित्रको इनडोरको काम सुरुमा गरिने र काठमाण्डौमा करिब ३ साता खिचेपछि चलचित्रको छायाङ्कन धरानमा गरिने छ । थोरै जनशक्ति र सुरक्षा विधि अपनाएर काम गरिने निर्माण पक्षको दाबी छ । चलचित्रको काम भरी चलचित्रको टिम एकै ठाउँ बस्ने र सुरक्षित भएर काम गरिने निर्माता प्रज्ज्वलले जनाएका छन् । धिरज र जसिताले पहिलो पटक स्क्रिन सेयर गर्न लागेको यस चलचित्र निकै अपेक्षा गरिएको चलचित्र हो ।