नेपालमा पछिल्लो समय बढेको बलात्कारको घटनाका विषयमा कलाकारहरूले विभिन्न मध्यमद्वारा आवाज उठाइरहेका छन् । बलात्कार जस्तो जघन्य अपराधलाई संरक्षण गरेर राख्ने नेपाली राजनीति र अपराधीलाई उचित कारबाही गर्न नसक्ने कानुनविरुद्ध सामाजिक सञ्जालबाट त कसैले युट्युबबाट आवाज उठाइरहेका छन् । यसै विषयमा निर्माता तथा कलाकार हसनराजा खानले पनि भिडियो नै तयार गरेर आफ्नो भनाई राखेका छन् । हाल दुबईमा रहेका हसनले 'साहास नेपालीको' नामक युट्युब च्यानल सञ्चालन गरिरहेका छन् । सो च्यानलमा उनले नेपाल र नेपालीको समस्याको विषयमा आवाज उठाउने बताए । हसनले नेपालमा बढ्दै गएको बलात्कारको विषयमा आफ्नो भनाई राख्दै समस्या परेपछि त्यसलाई व्यक्त गर्न डराउन नहुने बताएका छन् ।
उनले भने–'२ महिना, ६ महिना, २ वर्षको बालिका बलात्कार भएको घटना सार्वजनिक भइरहेका छन् । हामी कस्तो समाजको निर्माण गर्दै छौ । आज मलाई यी घटनाले पुरुष भएकोमा लाज लागेको छ ।' हसनले आफूमाथि हुने शोषणको विषयमा बोल्न आग्रह गरेका छन् । बलात्कारको घटनाको विषयमा आफूले अहिलेसम्म कुनै समाधान नदेखेको भन्दै उनले बलियो कानुनको आवश्यकता रहेको बताए । उनले, बलात्कारको घटनाका दोषीलाई ७ दिन भित्रमा दण्डित गर्नुपर्ने तर्क राखेका छन् । चलचित्र ‘अलबिदा, रोमियो’ लगायतका चलचित्रको निर्माण गरेका हसनले चाडै नै नयाँ चलचित्र लिएर दर्शकमाझ आउने बताएका छन् ।