नेपाली चलचित्र जगतका पाका कलाकार शिव श्रेष्ठले नयाँ चलचित्र लिएर दर्शक माझ आउने भएका छन् । चार दशक नेपाली चलचित्रमा निरन्तर सक्रिय रहेका अभिनेता श्रेष्ठको प्रस्तुतिमा चलचित्र 'एउटा यस्तो प्रेम कहानी' निर्माण भएको छ । चलचित्रको दोस्रो टिजर सार्वजनिक गरिएको छ । यस चलचित्रबाट शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरको छोरी कविता मानन्धरले डेब्यू गर्दै छन् । सार्वजनिक टिजरमा टिजरमा माया र संवेदनालाई प्राथमिकता दिइएको छ । टिजरमा मुख्य भूमिकामा देखिने शक्ति र कवितालाई प्रस्तुत गरिएको छ । यद्यपि चलचित्रको निकै पहिले नै निर्माण घोषणा गरिएको थियो । विसं २०७४ चैतमा निर्माण घोषणा गरिएको चलचित्रको पहिलो टिजर २०७५ जेठ १मा सार्वजनिक गरिएको थियो । यति लामो समयसम्म चलचित्र लम्बिनुको कारण निर्माण पक्षले 'मल्टि स्टार' र 'बिग बजेट'को नाम दिएको छ । यस चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुश्मन देसराज श्रेष्ठ जोशी, बर्षा राउत, सन्जोग कोईराला, बसुन्धारा भुशाल, आङ टेम्बे शेर्पा, मिथिला शर्मा, बिष्णु चेम्जोङ, रेखा फागु, नरेन खड्का, ध्रुब कोईराला लगायत कलाकारको अभिनय रहेको छ । निर्माण पक्षले सरकारले हल खुल्ने अनुमति दिएसँगै अवस्था हेरेर चलचित्र रिलिज गर्ने लक्ष राखेको छ ।