नेपाली चलचित्र 'महानगर' कोलकता इन्टरनेशनल फिल्म फेस्टिभल (किफ)मा छनौट भएको छ । किफमा छनौट भएसँगै चलचित्रको प्रदर्शन भारतबाट सुरु हुने भएको छ । मोहन राईद्वारा लिखित तथा निर्देशित ‘महानगर’को सो फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने भएको हो । किफ)को २६ औँ संस्करणमा नेट प्याक अन्तर्गत प्रतिस्पर्धात्मक क्याटोगोरी 'एसियन सेलेक्ट' मा महानगरलाई छनोट गरेको हो । यस क्याटोगोरीमा किफले एसियाका सात चलचित्र छनौट गरेको छ जसमा नेपालबाट 'महानगर' छनौट भएको हो । भारतको कोलकातामा आयोजना हुने फेस्टिभलको २६ औँ संस्करण आउँदो नोभेम्बर ५ देखि १२ सम्म हुनेछ । विश्वका फिल्म फेस्टिभलमध्ये कोलकता फेस्टिभललाई महत्त्व र प्रतिष्ठाका साथ हेरिन्छ । यस फेस्टिभलमा आफ्नो चलचित्र छनौट भएपछि निर्देशक मोहन राईले खुसी व्यक्त गरेका छन् । चलचित्रमा अभिनेत्री मेनुका प्रधान र कर्म शाक्यको मुख्य भूमिका रहेको छ ।