सरकारले कोरोनाको उपचार अब जनता आफैले गर्नुपर्ने भनेपछि यसले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । कोरोना महामारीका कारण नेपालमा धेरै जनधनको नाश भइसक्दा र अझ यो महामारी नियन्त्रणमा नआउँदा निकै चिन्ताको विषय बनेको छ । यस्तो जटिल अवस्थामा सरकारले नागरिक प्रतिको दायित्व बहन गर्नबाट पछि हट्दा चौतर्फी आलोचना भइरहेको छ । यस विषयलाई लिएर कलाकारहरूले पनि आफ्नो धारणा राखिरहेका छन् । यसै विषयमा अभिनेता निर्देशक निश्चल बस्नेतले पनि मुख खोलेका छन् । उनले सामाजिक सञ्जालमा सरकारले साधारण जनतालाई मान्छे गन्दैन भन्ने पुष्टि भएको लेखेका छन् । उनी लेख्छन्, 'आफ्नो उपचार गर्न राज्य कोषबाट जति खर्च गरे पनि हुने ।

जनताको उपचार आफै गर भन्न सक्ने गैर जिम्मेवार सरकारले साधारण जनतालाई मान्छे गन्दैन भनेर फेरि छर्लङ्ग भयो । महामारीमा पनि जनताको सेवक हुन नसक्ने सरकारले आफ्नो पतनको बाटो आफै रोजिसकेछ । राम्रो रोज्ने मौका त हामीले गुमायौँ, अब ढिला नगरी कुहिएकालाई चैँ फ्याल्नुपर्ने देखियो ।' उनको यस अभिव्यक्तिले सरकारको लाचारीपनलाई तिखो व्यङ्ग गरेको छ ।