दीपक सिलवालको शब्द तथा सङ्गीतमा गायक शिव परियार र निरुषा भट्टराईको स्वरमा रहेको नयाँ गीत ‘छलक छलक छल्क्यो माया’ सार्वजनिक भएको छ । बुधवार युट्युबमा रिलिज यस गीतमा नायक पल शाह, नायिका वर्षा राउत र अभिनेता शिशिर भण्डारीले अभिनय गरेका छन् । गम्भीर विष्टले निर्देशन गरेको यस भिडियोमा एक्सन सहितको रोमान्टिक, डान्सिंग प्रेमकथा देख्न सकिन्छ । म्युजिक भिडियोमा एक्सन राख्नु नौलो प्रचलन हो । नायक पल शाह, नायिका वर्षा राउतलाई पनि हामीले चलचित्रमा हेरे जसरी नै हेरौँ र देखाऔँ भन्ने इच्छाले नै मैले यो गीतको भिडियोमा नै एक्सन राखेको भिडियोका निर्देशक गम्भीर विष्टले बताएका छन् । गीतले बैँशालु उमेरमा युवक युवतीको प्रेम भाव र बदलाको भाव प्रस्तुत गरेको छ । भिडियोमा सञ्जय थापा र शुक्रराज शाहको एक्सन निर्देशन रहेको छ । नवराज उप्रेतीको छायाङ्कन तथा नवीन निरौलाको सम्पादन तथा कलर ग्रेडिङ रहेको छ ।