केही महिना अघी फोक्सोको क्यान्सर भएको पत्ता लागेका सञ्जय दत्तले क्यान्सर जितेका छन् । दत्तले यसबारे आफैँले सामाजिक सञ्जालमा क्यान्सरको लडाइमा आफूले जित हासिल गरेको उल्लेख गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्विटरमा पछिल्लो समय परिवारका लागि कठिन भए पनि आफूले रोगलाई हराएपछि सबै कुरा ठिक हुँदै आएकोसमेत उनले उल्लेख गरेका छन् । उनी लेख्छन्, 'भनिन्छ नि भगवानले आफ्नो बलियो योद्धालाई निकै गाह्रो लडाइँ दिन्छ । आज म मेरा छोराछोरीको जन्मदिनको अवसरमा यो लडाइँबाट विजयी भएको छु । र, उनीहरूलाई उपहार दिन सफल भएको छु' । उनले यो लडाइँमा साथ दिने परिवार, साथीहरू र सबै फ्यानहरूप्रति आभार प्रकट गरेका छन् ।

उपचारका लागि उनी अमेरिका जाने तयारीमा रहेका दत्तलाई चौथो स्टेजको फोक्सो क्यान्सर भएको थियो । तर, भारतको कोकिलाबेन अस्पतालमा नै उपचार गराएका उनी छिट्टै नै यस लडाइँमा बिजेता बनेका छन् । क्यान्सर निको भएर घर फर्किएका संजयले आफ्ना दुई सन्तान शाहरान र इकराको १० औँ जन्मदिनमा भर्चुअल्ली सहभागी भए । उनकी श्रीमती र सन्तान दुबईमा रहँदै आएका छन् । संजयले आफ्ना सन्तानको जन्मदिनमा आफुले आफ्नो नयाँ जीवन उपहार दिन पाउँदा निकै खुशी भएको पनि बताएका छन् ।