नवोदित गायक कृष्ण कार्कीले अर्का गायक पवन भाटसँगको सहकार्यमा दसैँ तिहारलाई लक्षित गर्दै ‘ए आमा’ बोलको गीत सार्वजनिक गरेका छन् । दसैँ र तिहारको मर्म बोकेको गीतमा दसैँ र तिहारमा टाढा रहँदाको पिडालाई व्यक्त गरिएको छ । नेपालीहरूको महानपर्वको रूपमा हेरिने दसैँ र तिहारलाई हर्सोलासका साथ मनाइन्छ ।
यद्यपि आफ्नो घरपरिवारबाट टाढा रहनेले यस चाडपर्वमा महसुस गर्ने पिडालाई गीतमा दर्साइएको छ । गीतमा शब्द हिराछवी श्रीषाको रहेको छ भने यसमा दर्पण यात्रीको सङ्गीत रहेको छ । गीतमा विमला गिरी , दर्पण यात्री , दिया यात्री , सफलता , सुरज पुन र सागर लम्सालको अभिनय रहेको छ । भिडियोलाई सुजन श्रेष्ठले छायांकन गरेका हुन् भने यसमा दिन्सन शाहको सम्पादन रहेको छ ।
भिडियोलाई गीतकार श्रीषाले नै निर्देशन गरेका हुन् । दसैँ र तिहार आफ्नो परिवार भन्दा पर रहनेको कथा गीत मार्फत व्यक्त गर्ने प्रयास गरेको गायक कृष्णले बताए । ‘हामीले यो महानचाडको अर्को पक्षलाई देखाउने प्रयास गरेका छौँ’ उनले भने ,’किनकि आफ्नो परिवारको खुसीको लागि पर रहेर सङ्घर्ष गर्ने धेरै छन् ।’
र यो पनि ................
फ्रन्टलाईनरको कथा बोकेको 'निदाउके सपनीमा' सार्वजनिक(भिडियो)
कोरोना महामारीबीच फ्रन्टलाईनमा रहेर बिरामीको सेवा गर्ने दुई डाक्टरको प्रेमकथामा आधारित साङ्गीतिक भिडियो 'निदाउके सपनीमा' सार्वजनिक भएको छ । दशैँको छेकोमा सार्वजनिक भिडियोमा समावेश गीतमा सुगम पोखरेल र कबिता श्रेष्ठको स्वर रहेको छ । रमेश कुमार श्रेष्ठका शब्दमा एलिश कार्कीको सङ्गीत रहेको छ ।
भिडियोमा ‘प्रेम गीत ३’ अभिनेता मनिष राउत र मोडल रेश्मा घिमिरेको जीवन्त अभिनय रहेको छ । गीतको भिडियोले फ्रन्टलाईनमा रहेर बिरामीको उपचार गर्ने क्रममा आँफै संक्रमित हुनुपरेपछिको अवस्थालाई देखाएको छ । भिडियोमा बिहेपछि पहिलो पटक दशैँ मनाउन तयारी गरिरहेको बेला रेश्मालाई कोरोना संक्रमण भएपछि अस्पतालमा नै टिका लगाएको दृश्य तथा उपचारको क्रममा सिसा बाहिरबाट श्रीमती हेरेर रुनु पर्दाको दृश्यहरु कारुणिक रहेका छन् ।
भिडियोको निर्देशन चलचित्र निर्माता तथा निर्देशक सन्तोष सेनले गरेका छन् । सन्तोष भन्छन्, ‘म्यूजिकल लभ स्टोरीमा दुई डाक्टरको लभलाईफलाई देखाउन खोजेको छु । यो गीत कोरोना महामारी बीचमा फ्रन्टलाईनमा रहेर काम गर्ने सबैलाई सम्मान स्वरुप समर्पण गरेका हौँ । गीतमा नागरिकको सेवा गर्दै गर्दा कोभिड-१९ को संक्रमण भएपश्चातको कथा देख्न सकिन्छ ।’
बिरामीको उपचारमै रहँदा कोरोना संक्रमण भएका डाक्टरलाई समाजले गरेको दुर्व्यवहार सम्झँदै निर्देशक सेन भन्छन्, ‘जीवनमा सबैभन्दा नजिक भएको मान्छे चाड पर्वको समयमा कोभिड-१९ बाट संक्रमण हुँदा कसैको मनमा के बितेको होला ! त्यहिँमाथी कोरोना संक्रमणपछि समाजले छिछि दुर दुर गर्ने, हेला भावले हेर्ने गरेको पाईयो । आफ्नो ज्यानको बाजी राखेर उहाँहरुले नै फ्रन्टलाईनमा बसेर बिरामीको उपचार गरिरहनु भएको हुन्छ । उहाँहरुले कोरोना संक्रमित भनेर कसैको अपहेलना गर्नुभएको छैन । उहाँहरुको कामलाई सम्मानस्वरुप यो गीत ल्याएका हौँ ।’
अभिनेता मनिष राउतले फ्रन्टलाईनमा काम गर्नेहरुको ‘डेडिकेशन’लाई सांगीतिक रुपमा देखाउन खोजेको बताए । ‘आँशुसेन फिल्मससँग म एकदमै नजिक छु, जसको कारण पनि म यो भिडियोमा जोडिने अवसर पाएको हुँ । आत्मैबाट राम्रो बनाउने कोशिस गरेका छौँ । यो भिडियोले फ्रन्टलाईनमा काम गर्नेहरुको ‘डेडिकेशन’लाई सम्मान गर्छ ।’
आँशुसेन फिल्मसको प्रस्तुतीमा बनेको गीतका निर्माता प्रितम बिष्ट हुन् । पुरुषोत्तम प्रधानको डिओपी रहेको छ भने भुपेन्द्र अधिकारीको सम्पादन तथा रेनिश फागोको कलर ग्रेडिंग रहेको छ ।