सुधिर श्रेष्ठ र रियाशा दाहाल अभिनित ‘कुरा काट्ने मान्छे’ गीतको भिडियो युट्युबको ट्रेन्डिङ नम्बर १ मा उक्लिएको छ । गायिका एलिना चौहान र सुभाष पुरीको आवाज रहेको 'कुरा काट्ने मान्छे' बोलको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत रहेको छ भने रिकेश गुरुले एरेन्ज गरेका हुन् ।
सार्वजनिक म्युजिक भिडियोमा एक अर्कालाई आफूभन्दा माया गर्ने एक जोडीको प्रेम सम्बन्ध देखी विवाह र बुढेसकाल अनि मृत्यु सम्मको कथा बुनिएको छ । रियाशा र सुधीरलाई यस अघिका भिडियोमा चुलबुले माया प्रेम गर्ने र कम्मर मर्काउने भूमिकामा देख्दै आइएको थियो भने यस भिडियोमा उनीहरूलाई केही फरक अवतारमा देख्न सकिन्छ । भन्नेले जेसुकै भनेता पनि एक अर्कालाई माया गर्न कहिल्यै छोड्नु नहुने भाव बोकेको गीतको अडियो तथा भिडियो निकै सुन्दर बनेको छ । भिडियो सरोज ओलिले निर्देशन गरेका हुन् भने नवराज उप्रेतीले कोरियोग्राफी गरेका हुन् । भिडियोमा कन्सेप्ट र कोरियोग्राफी भने बिक्रम स्वारको रहेको छ । यस म्युजिक भिडियो गज्जब टिभीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।