साउन २३ गते हुने ‘एलजी सिने सर्कल फिल्म अवार्ड’मा सहभागी हुन पुरानो चलचित्र ‘माइती घर’का जोडी माला सिन्हा र सिपी लोहनी नेपाल आएका छन् । शुक्रबार मध्यान्ह् उनीहरु नेपाल आइपुगेका थिए । एलजी अवार्डमा अतिथिको रुपमा आएका माला र सिपीलाई समारोहमा सम्मान गरिने भएको छ । बिशेषत चलचित्र ‘माइती घर’को टिमलाई अवार्डमा सम्मान गरिदै छ । माला र सिपीलाई लिन ‘एलजी सिने सर्कल फिल्म अवार्ड’का प्रमुख दिनेश डिसी अन्तराष्ट्रिय त्रिभुवन विमानस्थल पुगेका थिए ।
‘माइती घर’मा सँगै काम गरेर विवाह बन्धनमा बाधिएका यी जोडी नेपाल आउन पाउदा खुसी भएको बताएका छन् । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरुले आफ्नो खुसी व्यक्त गरेका थिए । नेपाल रहने क्रममा यो जोडीलाई पोखरा र चन्द्रागिरी घुमाउने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन् । गत बर्षबाट सुरु भएको एलजी अवार्डको लागी गत बर्ष बलिउडका चर्चित अभिनेता सत्रुधन सिन्हा नेपाल आएका थिए ।