बलिउड अभिनेता अक्षय कुमार अभिनीत वर्षको प्रतिक्षित चलचित्र ‘लक्ष्मी’ अनलाईनमा रिलिज भइसकेको छ । हरर- कमेडी जनराको फिल्ममा अक्षय तेस्रो लिङ्गी भूमिकामा छन् । सुरुवातमा ‘लक्ष्मी बम ‘ नाम दिइएको यस फिल्म नामको कारण विवादमा पर्‍यो । त्यसपछि फिल्म युनिटले बम हटाएर लक्ष्मी मात्र नाम राखेको हो । लक्ष्मीको फस्ट लुक रिलिज भएसँगै यो वर्षकै सर्वाधिक प्रतिक्षित फिल्म बन्यो । अझ ट्रेलर र गीतहरू रिलिज भए पछि अक्षयका फ्यानको लागि फिल्म बहु प्रतिक्षित नै बन्यो । लक्ष्मी साउथ फिल्म ‘कन्चना’ को रिमेक हो । टेलिभिजनमा बारम्बार आइरहने कन्चना हेरिसकेको कारण लक्ष्मी हेर्दा कलाकार बाहेक खासै फरक भने केही पाइँदैन । कमेडी-हरर जनरामा बनाइएको फिल्ममा इमोसन जोड्न खोजिएको छ तर सबै कुराहरु एकै पटक देखाउन खोजिएको कारणले लक्ष्मी हेरिरहँदा जबरजस्ती हँसाउन र जबरजस्ती तर्साउन खोजिएको जस्तो लाग्छ । प्रदर्शन अगाडी नै विवाद र चर्चा शुरू भएको  चलचित्र लक्ष्मी समग्रमा अपेक्षाकृत सावित हुन सकेको देख़िदैन । समीक्षक हरूको आँखामा पनी लक्ष्मी औशत भन्दा मुनि नै रहेको पाइएको छ ।

फिल्ममा आसिफ (अक्षय कुमार) र रश्मी (कायरा आडवानी) को कहानीले सुरुवात लिन्छ। अन्तरजातीय विवाहको कारण आसिफलाई रश्मीको परिवारले स्वीकार गर्दैन । रश्मीको आमा-बुवाको विवाहको २५औँ एनिभर्सरीको मौका पारेर आसिफ रश्मीको घर पुग्छन् । रश्मीको घरमा उनको आमा-बुवालाई खुसी बनाउने क्रममा आसिफको शरीरमा एक भूत आत्माले प्रवेश गर्छ । जुन आत्मा तेस्रो लिङ्गी हुन्छ । उक्त आत्माको नाम लक्ष्मी हुन्छ । जो बदला लिन चाहन्छ । यही बाट सुरु हुन्छ फिल्मको कहानी ।

लक्ष्मीमा न तर्साउने मसला छ न त हँसाउने मसला । समाजमा तेस्रो लिङ्गीलाई गरिने व्यवहारलाई देखाउने प्रयास गरिएको छ । फिल्मका निर्देशक राघव लाँरेन्सले कथालाई निकै नाटकीय रूपमा प्रस्तुत गरेका छन् । फिल्ममा अब्बल कलाकारहरू राखेता पनि ओभर एक्टिङ गराइएको छ । जसको जरुरत नै छैन । फिल्मको सबै भन्दा राम्रो पक्ष भनेको अक्षय कुमारको अभिनय हो । तर कमजोर स्कृनप्लेको कारण नुन बिनाकै तरकारी जस्तो भान हुन्छ । फिल्ममा कियराको छन् या छैनन् दर्शकले थाहा समेत पाउँदैनन् । त्यस्तै थोरै भएता पनि कलाकार शरद केल्करले तेस्रो लिङ्गीको भूमिका राम्रो निभाएका छन् ।