कोरोना महामारीको कारण यतिबेला सिनेमा हलहरु सुनसान छन् । रिलिजको मुखमा आएर ‘म यस्तो गीत गाँउछु, प्रेमगीत ३, चपली हाइट ३’ लगायतको केही फिल्महरु रिलिज हुन पाएनन् ।चलचित्रकर्मीहरु फिल्म हल कहिले खुल्ने र सामान्यरुप काम गर्न कुरिरहेका छन् । हलमा फिल्महरु रिलिज नभएता पनि युट्युवमा भने केहि नेपाली चलचित्रहरु रिलिज भएका छन् । जसमध्ये दुई साता अघि रिलिज भएको ‘ए मेरो हजुर ३’ ले नेपालको यूट्यूब ट्रेन्डिङ १ को स्थान ओगटेको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भुमिका रहेको चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । हलमा व्यवसायिकरुपमा सफल भएको ए मेरो हजुर ३ लाई युट्युवमा झण्डै एक करोडले हेरिसकेका छन् भने दर्शकले रुचाएका छन् ।

त्यस्तै एकसाता अघि युट्यवमार्फत रिलिज भएको ‘साईली’ ट्रेन्डिङको दोस्रो नम्बरमा रहेको छ । एकसातामा यो चलचित्रलाई करिव ३५ लाखले हेरिसकेका छन् । रामबावु गुरुङको निर्देशनमा बनेको साइलामा दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

व्यवसायिक र समिक्षागत रुपमा सफल चलचित्र ‘ प्रसाद’ पनि यतिबेला युट्यवमा रिलिज भइसकेको छ । रिलिज भएको २४ धन्टा नबित्दै सात लाख बढिले यो फिल्मलाई हेरिसकेका छन् । हाल ट्रेन्डिङ ५ रहेको प्रसादमा निश्चल बस्नेत, नम्रता श्रेष्ठ, बिपिन कार्कीको मुख्य भुमिका रहेको छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् भने सुशिल पौडेलले लेखेका हुन् ।

त्यस्तै एकसाता अघि रिलिज भएको कुम्भ करण युट्युवको ट्रेन्डिङ ६ मा रहेको छ । हलमा खासै सफल हुन नसकेको चलचित्रलाई युट्युवमा ११ लाखले हेरिसकेका छन् । चलचित्रमा भोलाराज सापकोटा , गौरव पहारी, निशा अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।