अभिनेत्री केकी अधिकारीले चलचित्र ‘बोक्सीको घर’ निर्माण गर्ने घोषणा गरेकी छिन् । 'बोक्सीको घर' नामक नाटकलाई चलचित्रमा उतार्न लागेको केकीले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएकी हुन l विज्ञप्तिमा भनिएको छ- ‘त्यति बेला नाटकमा अभिनेत्री सरिता गिरीको एकल अभिनय रहेको थियो । करिब एक महिना मञ्चन भएको नाटकका सर्जक (लेखक/निर्देशक) सुलक्षण भारती हुनुहुन्छ ।’तीनै सुलक्षण भारतीको लेखनमा निर्माण गर्न लागिएको चलचित्र ‘बोक्सीको घर’ लाई सुव्रतराज आचार्य र सुलक्षण भारतीले संयुक्त निर्देशन गर्ने भएका हुन् ।केकी अधिकारी फिल्मसले निर्माण गर्ने चलचित्रमा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहने छ l अन्य कलाकारहरूको अडिसन मार्फत छनौट गराइनुका साथै आगामी साता बाट खुला अडिसन गरिने निर्माण टिमले बताएका छन् l   ‘विगत डेढ महिनादेखि चलचित्र वर्कसप र प्रि–प्रोडक्सन चरणमा रहेको छ । चार महिनाको वर्कसपपछि चलचित्रको छायांकन थालिने  विज्ञप्तिमा उल्लेख छ ।यथार्थपरक चलचित्रको रूपमा निर्माण हुन गइरहेको चलचित्र बोक्सीको घरमा समेटिने अधिकांश घटना र दृश्य विगतदेखि अहिलेसम्म समाजमै घटेका वा घटाइएका घटनाहरूमा आधारित रहने बताइएको छ।चलचित्र ‘बोक्सीको घर’लाई वरिष्ठ रंगकर्मी एवं निर्देशक बद्री अधिकारीले निर्माण गर्दैछन् भने चलचित्रको कार्यकारी निर्माता विशाल भण्डारी हुन् ।चलचित्र ‘कोहलपुर एक्सप्रेस’ र टेलिभिजन कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ पछि यो टिमले तेश्रो प्रोजेक्टका रूपमा चलचित्र ‘बोक्सीको घर’ निर्माण गर्न लागेको हो ।