चलचित्र 'थ्रि लभरर्स' बाट सिने नगरीमा डेव्यु गरेकी नायिका हुन् पूजा शर्मा । उनले पहिलो चलचित्रमा अभिनेत्री प्रियंका कार्कीसँग काम गरेकी थिइन् ।  सह अभिनेत्रीको रुपमा पहिलाे चलचित्रमा काम गरेकी  पूजाले चलचित्रमा अाउनु  अघि नै गायक सुगम पोखरेलको चर्चित गीत पाठशालामा अभिनय गरिसकेकी थिइन् ।  'थ्रि लभरर्स'मा काम गरेकाे केही समयको अन्तराल पछि  'मधुमास', 'अझै पनि', 'चंखे संखे पंखे' लगायतका केही चलचित्रमा उनले  काम गरिन् । करिब अाधा दर्जन चलचित्रमा काम गरिसकेकी शर्मालाई चलचित्र 'प्रेमगीत'ले दर्शकमा चिनायाे । खासमा प्रेमगीत चलचित्रका टिम दुई तिर छुट्टिए सँगै पूजालाई यसले फाइदा पुर्यायो । यसबिचमा भएकाे विवादले दर्शककाे अाँखामा उनी परिन् । यसैबिच प्रेमगीतका निर्माता तथा नायक एकातिर भए भने निर्देशक र पूजा एकातिर भए । निर्देशक सुर्देशन थापा र पूजा शर्मा मिलेर चलचित्र 'म यस्तो गीत गाउँछु' निर्माण गरे । उक्त चलचित्रमा पूजाले लगानी गरेकी हुन् । चलचित्र रिलिज हुनु अगाडी नै चलचित्रको गीत सङ्गीतले चर्चा पाइसकेको थियो । गीत सङ्गीतले पाएको हाइप र पूजाको राम्रो क्रेजले कारण पनि दर्शकको ओइरो लाग्यो हलमा । असार ३० बाट चलचित्र 'म यस्तो गीत गाउँछु' रिलिज भयो । चलचित्र तोस्रो हप्ता सम्म राम्रो ब्यपार गर्‍यो । निर्माता तथा नायिका रहेकी पूजा शर्माको अनुसार चलचित्रले ७ करोड ग्रस कमाइ सकेको छ । उनी भन्छिन्, 'अहिले हात सम्म आएको छैन । तर कमाउन भने ७ करोड ग्रस कमाइसकेको छ । हामी नाफामा छौ ।'
पूजाले यसो भनिरहन्दा उनी नयाँ चलचित्र निर्माण तिर पनि सोचिरहेको बताइन् । चलचित्रले पाएको दर्शकको साथ देखेर खुसी रहेकी पूजाले म यस्तो गीत गाउँछुको सिक्वेल नबनाउने भन्छिन्। नेपालको चलचित्र इतिहासमा हेर्ने हो भने सिक्वेलले अहिले सम्म खासै दर्शकको मन र धन जित्न सकेको छैन । यसलाई मध्यनजर गरेर आफू सिक्वेल नबनाउने पूजाले बताउछिन् ।  ' एउटै टिमसँग काम गर्छु तर अरू कुनै स्टोरीमा फिल्म बनाउछु । '
पूजा अभिनित 'प्रेमगीत' पछिको सफल चलचित्र 'म यस्तो गीत गाउँछु' हो । चलचित्रमा सफल हुँदै गइरहेकी पूजाले पहिलो पल्ट लगानी गरेको चलचित्र पनि सफल भएको छ । यसै वर्ष अरू दुई अभिनेत्री द्धारा निर्माण भएको दुई चलचित्रले हलमा पानी पनि भन्न नपाएको अवस्थामा पूजा निर्मित चलचित्र नाफामा जानु सफल नै मानिन्छ । पूजालाई निर्देशक सुर्देशन थापाको क्यापमा रहेर हिट भएको नायिका पनि भन्ने आरोप पनि लाग्ने गरिन्छ । निर्देशक थापाको क्याप बाहिरको चलचित्र पूजाले गर्छिन् या गर्दिनन् त्यो हेर्ने नै बाँकी छ । तर नायिकाको साथै निर्मात्रीको रूपमा पनि पूजा 'म यस्तो गीत गाउँछु'बाट सफल भएकी छिन् ।