सुर्य कर्पोरेशनले सन २०१८ देखि नेपाली संगीत र फिल्मप्रति समर्पित हुदै आयोजना शुरु गरिएको सुर्य ईन्टरनेशनल अवार्डको तेश्रो संस्करण हुने भएको छ । २०२० मै हुनुपर्ने तेश्रो संस्करण कोरोना भाइरस (कोभिड–१९) का कारण हुन सकेन । सोही संस्करण २०२१ मा हुने भएको छ ।
यसको वारेमा जानकारी दिदै सुर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले यस पटकको सुर्य अवार्ड केही रोचक र फरक हुने दावी गरेका छन् । उनले जानकारी दिए अनुसार अवार्डको समपूर्ण तयारी काठमाडौंमा हुनेछ भने नोमिनेशन जापानको टोकियोमा हुनेछ । अवार्ड समारोहलाई भने थप भव्य तयारी सहित अमेरिकामा गरिने बताइएको छ ।
पहिलेको संकरणमा झै अवार्डको औपचारिक जानकारी र फर्म खुल्ला काठमाडौंमा गरिनेछ । उत्कृष्ट तीन मनोनयनमा परेका कलाकार तथा फिल्मकर्मीलाई जापानको टोकियोमा नोमिनेशन प्रमाणपत्र सार्वजनिक गरिनेछ । यस्तै त्यसको केही सातापछि अर्थात नेपाली नयाँ बर्षको छेको पारी २०२१ मा अमेरिकामा यो अवार्ड समारोह भव्य रुपमा सम्पन्न गरिनेछ ।
निर्माण हुन लागेको केही फिल्मको अन्र्तराष्ट्रिय अधिकारका लागि समेत कर्पोरेशनले सम्झौता गरिसकेको छ । अनमोल केसीको होम प्रोडक्शनमा निर्माण हुने फिल्म र अन्य केही फिल्महरुसँग कर्पोरेशनले अन्र्तराष्ट्रिय अधिकारका लागि सम्झौता गरिसकेको छ ।
नेपाली कला संस्कृतिको प्रवद्र्धन तथा नेपाली गीत संगीत र फिल्मलाई अन्र्तराष्ट्रिय स्तरमा पुराउन पनि सुर्य कर्पोरेशनले सुर्य अवार्डलाई अगाडी सारेको अध्यक्ष लामिछानेले बताएका छन् । कोरोना महामारीको कारण ठप्प झैँ बनेको नेपाली फिल्मनगरीलाई नेपालसँगै अन्र्तराष्ट्रिय स्तरमा पनि प्रचार प्रसार र टेवा पुग्ने गरि अहिलेको अवस्थालाई अध्ययन गरि अवार्डको तेश्रो संस्करण अमेरिकामा तय गरिएको नेपालका लागि संयोजक समीर बलामीले बताएका छन् । सुर्य कर्पोरेशनले अवार्डसँगै नेपाली फिल्मको प्रवद्र्धन र पर्यटन प्रवद्र्धनलाई समेत टेवा पुग्ने गरि कार्यक्रमहरु गर्दै आईरहेको छ, सुर्य कर्पोरेशन तथा सुर्य अवार्डका ब्राण्ड एम्बेसडर नरेश भट्टराईले भने ।
अवार्ड समारोह संगीत तर्फ ६ विधा र फिल्मतर्फ ६ विधा राखिएको छ । जसमा फिल्मतर्फ उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, सह अभिनेता र सह अभिनेत्री समावेश छ । यस्तै संगीत तर्फ पप, आधुनिक र लोक गरि ६ गायक गायिका समावेश छ । यस्तै अवार्ड समारोहमा दुई दशक लामो फिल्मी यात्रा तय गरेका एक फिल्मकर्मीलाइ लाइफटाइम एचिभमेन्ट अवार्ड, एक दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान र एक दशक निरन्तर फिल्म पत्रकारिता गरेका पत्रकारलाई फिल्म पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । अवार्ड समारोहसँगै सुर्य कर्पोरेशनले क्रुज (पानीजहाज) पार्टि, मिनि गेट टु टुगेदर नाईट पार्टिलगायत आयोजना गर्दै आएको थियो । यसलाई यो पटक पनि निरन्तरता दिने कर्पोरेशनले जनाएको छ । अवार्ड समारोहले चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सहकार्य गर्दै आईरहेको छ ।