पछिल्लो समय नेपाली चलचित्रमा आवद्ध भएका धेरै कलाकारहरु व्यवसायी भइसकेका छन् । परिवर्तित समयसँगै नेपाली कलाकारको पारिश्रमिक पनि बढ्दो छ । केही समय अघि मात्र नायक अनमोल केसीले २० लाख पारिश्रमिक लिएको खबरले बजार तातिएको थियो । उनले चलचित्र कृको लागी उक्त रकम लिएको खबर बाहिरिएको थियो । हालै चलचित्र ‘प्रेमगीत २’मा अभिनय गरेका प्रदीप खड्काले प्रेमगीत २ को लागी ८ लाख लिएको बताएका थिए । चलचित्र सफल भएसँगै उनलाई केही समय अघि एक चलचित्रको लागी १५ लाखको अफर आएको बताएका छन् । तर पारिश्रमिक त्यो भन्दा बढि लिन सकिने प्रदीप बताउछन् । त्यस्तै चर्चित अभिनेता दयाहाङ राईले आफ्नो पहिलो चलचित्र ‘दासढुंगा’को लागी ३० हजार पारिश्रमिक लिएका थिए । बर्षमा झण्डै आधा दर्जन भन्दा बढि चलचित्रमा काम गर्ने दयाले अहिले एउटा चलचित्रमा काम गरे बापत ८ लाख भन्दा माथि लिने गरेको बताइएको छ ।
त्यस्तै अनमोल केसीले पहिलो डेव्यु चलचित्र ‘होस्टेल’बाट १ लाख ७५ हजार लिएका थिए भने जेरी चलचित्रको लागी ५ लाख पारिश्रमिक बुझेका थिए । जेरी पनि सुपरहिट भएपछि ‘गाजलु’मा ८ लाख लिएका थिए । पछिल्लो समय नायिकाहरुको पनि पारिश्रमिकमा परिवर्तन आएको छ । चर्चित अभिनेत्री रेखा थापाले आफ्नो पहिलो चलचित्र ‘हिरो’मा २१ हजार पारिश्रमिक लिएकी थिइन् । आफ्नो ब्यानरमा मात्र काम गर्ने रेखाले पछिल्ला केही दुई चलचित्र अरुको ब्यानरमा काम गरिन् । ‘पलाँस’ र ‘डायरी’मा बुझिए अनुसार रेखाले ४–४ लाख रुपैयाँ लिएकी थिइन् । नायिका प्रियंका कार्कीले पहिलो चलचित्र ‘मेरो बेस्ट फ्रेन्ड’मा निर्मातासँग १ लाख २० हजार बुझेकी थिइन् । पछिल्लो समयकी व्यस्त नायिकामा पर्ने प्रियंकाले पछिल््रलो एउटा चलचित्रको लागी ४ लाख माथि लिने गर्छिन् ।
त्यस्तै चलचित्र स्वरबाट डेव्यु गरेकी नायिका केकी अधिकारीले पहिलो चलचित्रबाट १ लाख पारिश्रमिक लिएकी बताएकी थिइन् । ‘ड्रिम्स’ चलचित्रबाट चर्चामा आएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले ड्रिम्सको लागी १ लाख पारिश्रमिक लिएकी थिइन् । उनले झरना थापाको निर्देशनमा चलचित्र ‘ए मेरो हजुर’का लागि ४ देखि ५ लाख लिएको बताइन्छ ।