करिब एक बर्ष अघि अभिनेत्री बर्षा सिवाकाटी आफ्नो प्रेमी सबिन थापालाई भेट्न अमेरिका गएको भन्ने समाचारले मिडियामा राम्रै स्थान पायो । त्यो समय बर्षाले आफु प्रेममा रहेको वा नरहेको भन्ने बारे केही बोलिनन् ।
झण्डै एक बर्षपछि बर्षा पुनः सबिनलाई भेट्न अमेरिका पुगिन् । लकडाउनको समयमा कोरोनाको पर्वाह नगरी अमेरिका पुगेकी बर्षाले यसपटक भने खुलेरै सबिनसँग प्रेम जनाइन् । मिडियामा उनीहरु चाडैँनै विवाह बन्धनमा बाँधिन लागेको समचारपनि सार्वजनिक भयो । उता बर्षा र सबिनको प्रेम समाजिक सञ्जाल इन्टाग्रामको भित्ताभरी छरपष्ट देखियो । तर बर्षा नेपाल फर्किएसँगै उनीहरुको प्रेममा तुसारपात भएको छ ।
बर्षा र सबिन दुवैले एकसाथ भएको सबै फोटो इन्टाग्रामबाट डिलिट गरे । उनीहरुको प्रेम सम्बन्ध विछोड भएको भनी शनिबार बिहानै सबिनले आफ्नो र बर्षाको तस्बिर सहित लामो भावुक स्ट्याटस लेखे । सबिनले इन्टाग्राममा बर्षाले देखाएको इगो र व्यवहारका कारण सम्बन्ध सकिएको लेखेका छन् । ‘ १७ महिना भयो सम्बन्ध सुरु भएको । हामीले एकअर्काको राम्रो र नराम्रो पक्षलाई स्वीकार गर्दै सम्बन्ध अघि बढाएका थियौँ । प्रेममा दुवै जनाले एकअर्काको तागत र कमजोरीलाई स्वीकार गर्न सिक्नु पर्छ ।’ बर्षाले आफु अप्ठ्यारोमा परेको बेला छोडेको भाव सबिनले स्ट्याटसमा लेखेका छन् । ‘मैले बर्षालाई माया गर्न कुनै कसुर बाँकी राखिन । उनलाई खुसी राख्न हरबखत प्रयास गरिरहन्थे ।’ बर्षाले धोका दिएसँगै आफुलाई हरेक कुरासँग डर लागेको उनी लेख्छन् । पहिलेपनि बर्षाले धोका दिएपनि केही समयपछि सम्बन्ध सुधारमा आएको थियो तर अब भने उनी आफ्नो प्रेम सम्बन्ध पुन सुधार हुने कुरामा विश्वस्त छैनन् ।