काठमाडौँ,१९ माघ । चलचित्र हल नखुल्दासम्म हल खुलेन भन्नेहरू अहिले हल खुल्दा भने फिल्म रिलिज गर्न आनाकानी गरिरहेका छन् ।कोरोना भाइरसका कारण लकडाउन हुनु पूर्व दुई वटा फिल्म "आमा" र "सेन्टिभाइरस" हलमा थिए । व्यावसायिक रूपमा हेर्दा यी दुई चलचित्रले खासै सफलता प्राप्त गरेनन् भन्दा पनि फरक पर्दैन । "आमा"को तुलनामा "सेन्टिभाइरस"ले केही सफलता प्राप्त गरे पनि अपेक्षा अनुसारको व्यापार नभएको कलाकार, निर्माताले बताउँदै आएका छन् । फिल्म चलिरहेकै बेला लकडाउनको सुरुवात भएर पनि व्यावसायिक सफलता प्राप्त गर्न नसकेकोमा स्वयं स्विकार्छन् ।
लकडाउनका कारण बन्द भएका सिनेमा घर गत पुस १० गते देखि चलचित्र संघको आव्हानमा खुल्यो र लकडाउन अगाडीका दुई चलचित्र पुन हलमा प्रदर्शन भयो तर दर्शकको आगमन हेर्दा निराश हुनुपर्ने अवस्था थियो । त्यतीबेला पनि हलवालाले भने पुरानै फिल्म प्रदर्शन गरेर दर्शक ल्याउन नसकिने बताएका थिए । अहिले हरेक क्षेत्रमा सामान्य जस्तै अन्य गतिविधिहरू भएपनि हलमा भने फिल्म छैनन् । नयाँ फिल्महरू रिलिजको लागि पाइप लाइनमा रहेपनि एकाध बाहेक धेरैजसो फिल्मले रिलिज मिति घोषणा गर्न सकिरहेका छैनन्,भने फिल्म हल जसरी पनि तत्कालै खोल्नको लागि पहल गरेकाहरू पनि अहिले चुपचाप रहेका छन् ।
चलचित्र क्षेत्रमा लगानी गर्ने व्यक्तिहरू बढे पनि व्यापारमा भने धेरै चलचित्र चिप्लिने गरेका छन्, त्यसको मुख्य कारण कथावस्तु नै हो भन्दा फरक नपर्ला, कतिवटा फिल्मले भने विभिन्न देशका अन्य फिल्मको नक्कल गरेका कारण पनि त्यसको व्यावसायिक पाटोमा असर परिरहेको छ । त्यसो त नेपाली फिल्म उद्योगमा धेरै जनाको प्रवेश भएपनि अध्ययन र मिहिनेतको कमी भएको प्रस्टै रूपमा देख्न सकिन्छ भने त्यसको असर पछिल्लो पुस्तामा पनि देख्न सकिन्छ ।
केही समय अगाडी जयकिसन बस्नेतले भने खुलेरै भनेका थिए "बलिउडबाट हामीले त्यसको नक्कल गरेकै हो ।" तर अन्य कलाकार, निर्देशकले भने आफ्नो फिल्म अन्य फिल्मसँग हुबहु मिलेनि मिलेको स्विकार गर्दैनन् । भने कसैले घुमाउरो तरिकाले स्वीकार गर्ने गर्छन् । समग्रमा पछिल्लो समय हलमा चलचित्र रिलिज नहुनुको मुख्य कारणमा धेरै निर्माताले लगानीलाई डुबाउन नचाहेको बुझिन्छ । त्यसो त अहिलेको अवस्थामा फिल्म रिलिज गर्दा दर्शक नआउने पो हुन् की भन्ने पिर निर्माता, निर्देशक र कलाकार सबैलाई लागेकै छ । कलाकारलाई अझ करिअरको पनि चिन्ता रहेकै होला पक्कै, किनभने नेपाली चलचित्र क्षेत्रमा एउटा फिल्म चल्ने बित्तिकै रातारात हिट र एउटा फिल्म नचल्ने बित्तिकै रातारात गुमनाम हुने स्थिति रहेको छ ।चलचित्रलाई दीर्घकालीन रूपमा चलायमान बनाउन कलाकार चलेको वा नचलेको भन्दा पनि उसको प्रतिभाको मूल्याङ्कन गरेर अवसर दिने हो भने अवश्य चलचित्रले दीर्घकालीन रूप पाउँछ ।
त्यस्तै अहिलेको अवस्थामा चलचित्र हलमा नलाग्नुको मुख्य कारण कोरोनापछि थलिएको अर्थतन्त्र भर्खर चलायमान भएर पनि धेरैजसो आफ्नै काममा व्यस्त हुने भएकाले पनि हो, साथै यस बिचमा धेरैजसो बिनाकाम बस्नुपरेकाले त्यसको परिपूर्ति गर्नमै व्यस्त छन् । त्यसको व्यस्तताले पनि हलमा जान दर्शक बाध्यताले पनि रोकिएका हुन सक्छन् ।तसर्थ हलमा दर्शक ल्याउनुनै छ भने, फिल्मलाई चाँडो र क्रमशः रिलिज गर्नुनै त्यसको उत्तम विकल्प हो । फिल्महरू लगातार रूपमा रिलिज गर्दा भने बिस्तारै दर्शक हलमा आउन सक्छन् ।