नेपाली सिने नगरीमा दुई दशक बिताइसकेकी नायिका हुन् – झरना थापा । ‘दाइजो’ चलचित्रबाट डेव्यु गरेकी झरनाले ‘जीवनसाथी’, ‘सुख दुःख’, ‘मुग्लान’ लगायतका दर्जनौ चलचित्रमा काम गरिसकेकी छिन् । लामो समय नायिका भएर काम गरेकी झरनाले आफ्नो परिचयको दायरालाई समेत फराकिलो बनाउँदै लगेकी छिन् । नायिकामा मात्र सीमित नभई झरना निर्देशक समेत भएकी छिन् । उनी निर्दे्शित चलचित्र ‘ए मेरो हजुर २’ यति बेला प्रदर्शनको तयारीमा रहेको छ । करिब २० वर्ष देखि सिनेमामा काम गर्दै आएकी झरनाको यति बेला एउटा डरले सताएको छ । त्यो हो चलचित्र ‘ए मेरो हजुर २’ । पहिलो पल्ट आफ्नो निर्देशनमा ‘ए मेरो हजुर २’ बनाएकी झरना चलचित्र कतिको सफल होला भन्ने चिन्ता लिइरहेकी छिन् । शुक्रवार एक कार्यक्रममा उपस्थित भएकी झरना भन्छिन् ‘रिलिज डेट जति नजिक आयो उति नै डर लागिरहेको छ । तर, उत्साहित पनि छु दर्शककाे प्रतिक्रिया सुन्न ।’ करिब १५ वर्ष अघि चलचित्र ‘ए मेरो हजुर’ निर्माण भएको थियो । जसलाई स्व.शिव रेग्मीले निर्देशन गरेका थिए । उक्त चलचित्रमा स्व.अभिनेता श्री कृष्ण श्रेष्ठ र अभिनेत्री झरना थापाको मुख्य भूमिका रहेको थियो । करिब १५ वर्ष पछि आफू अभिनित चलचित्रको सिक्वेलको रूपमा ‘ए मेरो हजुर २’ झरनाले निर्देशन गरेकी हुन् । दशकको सुपरहिट रहेको चलचित्र ‘ए मेरो हजुर’लाई सिक्वेलले कति निरन्तरा दिन्छ त्यसको चुनौती पनि झरनालाई थपिएको छ ।
नयाँ पुस्ताको कथालाई समेटिएर बनाइएको ‘ए मेरो हजुर २’को ट्रेलर र गीत सार्वजनिक भइसकेको छ । चलचित्रको गीतहरू र ट्रेलरले राम्रो साथ पाएकोमा झरना दङ्ग छिन् । उनले यसै चलचित्रबाट नव नायक सलिन मान बँनियालाई डेव्यु गराउदै छिन् । सलिनको चर्चा चलचित्र सुटिङ हुनु अगावै थियो ।उनलाई पछिल्लो समय अबका राइजिङ स्टारको भनिने गरिन्छ। सोही कारण पनि झरनामा डर थपिएकाे छ । दर्शकले अास गरेकाे सलिनले चलचित्रबाट पुरा गर्न सक्ने हाे की हाेइन् । चलचित्रमा सलिनको साथमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेको छ । साम्राज्ञीको यो दोस्रो चलचित्र हो । सुनिल कुमार थापाको निर्माण रहेको चलचित्र सलिन र साम्राज्ञीको साथमा सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ । चलचित्र भदौ १६ गतेबाट देशभर प्रदर्शन हुँदै छ ।