कोरोना महामारीको कारण करिब १० महिना ठप्प रहेको चलचित्र क्षेत्रमा पछिल्लो समय चहलपहल सुरु भएको छ । बिचमै रोकिएको केही चलचित्रले आफ्नो सुटिङ सुरु गरिसकेका छन् भने केहीले सकाइसकेका छन् । त्यस्तै पछिल्लो समय धमाधम नयाँ चलचित्र निर्माण धोषणा हुन पनि थालेको छ । हालैमात्र निर्माण घोषणा गरिएको चलचित्र ‘बिहे पास’ को लागी कलाकार खोजीकार्य सुरु भएको छ । 
यसअघि चलचित्रमा  दयाहाङ राई र प्रकृति श्रेष्ठ फाइनल भइसकेका छन् । मुख्य कलाकार अनुबन्धित भएता पनि अन्य कलाकारको लागी टिमले ‘कास्टिङ कल’गरेको हो । प्रवेश पौडेलको निर्देशन रहने चलचित्रको लागी  २० देखि ६५ बर्षसम्मका २२ जना पुरुष र २०, २६, ४०, ५० र ६७ बर्षका ५ जना महिला कलाकारको आवश्यकता रहेको बताइएको छ । अडिसन नयाँ तथा अनुभवी कलाकारले दिन पाउने छन् । फागुन ११ र १२ गते नेपाल फिल्म कास्टिङ कम्पनी ग्वार्को (ललितपुर) मा अडिसन हुने छ । अडिसन दिन चाहनेले NFCCFILM@gmail.com मा इमेल गर्न सक्नेछ ।