कोरोनाको महामारीको कारण झन्डै १० महिना ठप्प भएको चलचित्र नगरीमा पछिल्लो समय चहलपहल सुरु हुन थालेको छ । सिनेमा हलहरू सुचारु भएसँगै चलचित्रको छायाङ्कन र नयाँ चलचित्र घोषणा गर्ने क्रम बढ्दो छ । सिनेमा नगरीमा चहलपहल सुरु भएसँगै कलाकारहरूको चर्चा पनि बढ्दो छ । यति बेला मिडियामा नायक अनमोल केसीको कपालको चर्चा भइरहेको छ । अनमोलको कपाललाई लिएर ‘पारस’ र ‘ए मेरो हजुर ४’ निर्माण पक्ष बिच विवाद भएको बुझिएको छ । खास गरी अनमोलले चलचित्र ‘ए मेरो हजुर ४’को लागी कपाल छोटो बनाउनु पर्ने र बिरामी देखिनको लागी तौल घटाउनु पर्ने छ भने यता पारसमा अनमोलले कपाल लामो हुनु पर्ने बताएको छ । लकडाउनको कारण ए मेरो हजुर ४ले सुटिङ रोकेको थियो । तर दसैँपछि सरकारले सुटिङको लागी अनुमति नदिए पनि चलचित्र टिमले आफ्नो धमाधम सुटिङ गर्‍यो । त्यसयता रोकिएको ए मेरो हजुर ४ को सुटिङ पुनः फागुनको सुरुवातमै गरिने भनिएता पनि चलचित्रको सुटिङ सरिरहेको थियो । अब यही फागुन २५ गते शे–फोक्सुन्डो  तालमा स ए मेरो हजुर ४ को सुटिङ हुदैँछ । चलचित्रको गीत र केही महत्त्वपूर्ण दृश्यको छायाङ्कन बाँकी रहेको बताइएको छ । 

यता पारसको टिम ए मेरो हजुर ४ सकिएपछि फ्लोरमा जाने तयारी गरिरहेको छ । अनमोलकै होम प्रोडक्सनबाट निर्माण गर्ने लागेको चलचित्र ‘पारस’को सुटिङ अभिनेता भुवन केसीले यही फागुनबाट सुरु गर्ने योजनामा थिए । बुझिएअनुसार अब चलचित्रको सुटिङ वैशाखबाट सुरु हुनेछ । चलचित्र लाई सिमोस सुनुवारले निर्देशन गर्दैछन् । अनमोलले ए मेरो हजुर ४को लागी कपाल छोटो बनाए पारसको लागी समस्या हुने कारणले गर्दा यति बेला दुई टिमबिच असमझदारी बढिरहेको हो ।